२४ साउन, काठमाण्डौँ । सत्तारुढ नेपाली काँग्रेसका नेताहरुले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि उम्मेदवार तय गर्न ढिलाई नगर्न पार्टी नेतृत्वलाई दवाव दिन सुरु गरेका छन् ।
काँग्रेस नेताहरुले छिटो उम्मेदवार तय गरि प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको तयारीको कामलाई तीव्रता दिन प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिएका हुन । मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टी केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा नेताहरुले निर्वाचनको तयारीका लागि आवश्यक रणनीति तय गर्न पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन । छिटोभन्दा छिटो उम्मेदवार चयन गरी प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको तयारीमा जुट्न पार्टी नेताहरुले नेतृत्वको ध्यानाकर्षण गराएको पार्टीका नेता डा. नारायण खड्काले जानकारी दिनु भयो ।
आगामी असोज २ गते प्रदेश नम्बर २ अन्तरगत ८ वटा जिल्लाको १ सय २७ वटा स्थानमा स्थानीय तहको निर्वाचन हुँदैछ । नेपाली काँग्रेसका नेताहरुले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि उम्मेदवार चयनको काममा ढिलाई नगर्न पार्टी नेतृत्वलाई दवाव दिँदै आएका छन । काँग्रेसले पहिलो र दोस्रो तहको स्थानीय निर्वाचनमा उम्मेदवार चयनमा ढिलाई हुँदा पनि हार व्यहोर्नु परेको निष्कर्ष निकालेको थियो । काँग्रेस सभापति एवम् प्रधानन्त्री शेरबहादुर देउवाले पार्टी भित्रकै अन्तरघातका कारण पनि पहिलो र दोस्रो तहको स्थानीय तह निर्वाचनमा पहिलो शक्ति बन्न नसकेको निचोड निकाल्दै तेस्रो चरणको निर्वाचन अन्तरघात गर्नेलाई कडा कार्वाही गर्ने चेतावनी दिईसक्नु भएको छ ।
काँग्रेसले प्रदेश नम्बर २ को निर्वाचनमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रसँग तालमेल गरेर अघि बढने तयारी पनि गरिरहेको छ । प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा बढिभन्दा बढि स्थानमा जित हासिल गरी पहिलो शक्ति बन्ने काँग्रेसको रणनीति छ । बैठकमा प्रधानमन्त्री एवम् पार्टी सभापति देउवाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एउटै मितिमा गर्दा के हुन्छ भनि पार्टी नेताहरुको राय समेत माग्नु भएको छ ।