एजेन्सी , ३० फागुन । संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताहरूले सामाजिक सञ्जाल फेसबुकले म्यानमारमा रोहिंज्या मुसलमानविरूद्ध घृणा फैलाउने दिशामा ‘उल्लेख्य भूमिका’ खेलिरहेको बताएका छन् । म्यानमारमा भएको आरोपित नरसंहारबारे अनुसन्धान गरिरहेको एउटा छानबिन टोलीले ‘फेसबुक राक्षस बनेको’ जनाएको छ।
रखाइन राज्यमा गत अगष्टमा म्यानमारको सेनाले ‘विद्रोही’विरूद्ध कारबाही थालेयता करिब ७ लाख रोहिंज्या मुसलमानहरू भागेर बांग्लादेश पुगेका छन्।फेसबुकले ‘घृणाको अभिव्यक्तिका लागि कुनै ठाउँ नरहेको’ जनाएको छ । फेसबुककी एकजना प्रवक्ताले बीबीसीलाई भनिन्, “हामीले यसलाई एकदमै गम्भीर रूपमा लिएका छौँ र म्यानमारमा विज्ञहरूसँग सुरक्षाका उपायहरू विकास गर्न तथा त्यस्ता अभिव्यक्तिविरूद्धको अभियानबारे कैयौँ वर्षदेखि काम गर्दै आएका छौँ।”
“त्यसअन्तर्गत प्रयोगका मापदण्डबारे म्यानमारकै लागि एउटा छुट्टै पेज बनाइएको छ र म्यानमारका नागरिक समाज एवं स्थानीय समुदायलाई नियमित रूपमा प्रशिक्षण दिने गरिएको छ ।” उनले थपिन्, “निश्चित रूपमा हामीले थप काम गर्न सक्ने ठाउँ रहन्छ र समुदायलाई सुरक्षित राख्न स्थानीय विज्ञहरूसँग हामीले काम गरिरहनेछौँ।”
सत्य-तथ्य पत्ता लगाउने राष्ट्रसंघीय ‘मिसन’ले सोमवार अनुसन्धानको प्रारम्भिक नतिजाहरू सार्वजनिक गरेको थियो। एउटा पत्रकार सम्मेलनमा मिसनका अध्यक्ष मार्जुकी दारूस्मानले सामाजिक सञ्जालले ठूलो स्तरमा मानिसहरूमा रोहिंज्या मुसलमानहरूप्रति नराम्रो व्यवहार गर्ने दिशामा उल्लेख्य भूमिका खेलेको पाइएको बताए।




