काठमाडौं, २९ फागुन । नेपाली काँग्रेसका युवा नेता गगन थापाले नयाँ राष्ट्रपतिले संवैधानिक दायित्व पूरा नगर्ने हन् की भन्ने चिन्ता व्यक्त गरेका छन् ।
राष्ट्रपति निर्वाचनमा मतदान गरेलगत्तै संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ कुराकानी गर्दै उनले राष्ट्रपति भण्डारीले राष्ट्रियसभाको सांसद मनोनित गर्दा दलीय स्वार्थलाई हेरेको दावी गर्दै अब त्यस्तो नहोस् भन्ने कामना पनि गरेका छन् ।
उनले सामाजिक आन्दोलनलाई उठान गरेर परिवर्तित नेपालको राष्ट्रप्रमुख बन्ने आँट नयाँ राष्ट्रपतिले गर्नु पर्नेमा जोड दिए ।
काँग्रेस नेता थापाले संघीय लोकतान्त्रिक गणतन्त्रपछि बनेका राष्ट्रपतिहरु राजतन्त्रकै झल्को दिने गतिविधिभन्दा माथि उठ्न नसकेको बताएका छन् । राष्ट्रपति भईसकेका व्यक्तिले पूरानै तामझाममा रमाउने कुरालाई निरन्तरता दिन नहुने उनको बुझाई छ ।