अनुप तिवारी
पर्सा, २८ फागुन । पर्साको जिराभवानी गाउँपालिकामा विकास बजेटको दुरुपयोग भएको भन्दै स्थानीय आन्दोलित बनेका छन् । जिराभवानी–१ महादेवपटीमा नदी नियन्त्रणको नाममा झण्डै करोड रुपैयाँ खर्च हुँदा पनि उपलब्धि न्यून देखिएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।
ओरिया खोलाबाट कटान नियन्त्रणको नाममा ९७ लाख ८० हजारको बजेट सकिएको छ । तर, निर्माण थालेयता स्थानीयको ६० विघा जमिन नदीले कटान गरिसकेको छ । ठेकेदारले आफ्नो सुविधाका लागि कटान हुने ठाउँमा तारजाली निर्माण नगरेकाले आफूहरुको बिघौँ जमिन बगरमा परिणत भएको स्थानीयको गुनासो छ ।
अहिले तारजाली लगाइएकै स्थानमा गत वर्ष पनि ४५ लाख रुपैयाँ खर्च भएको थियो । त्यतिबेलाको रकमको फस्र्योट हुन बाँकी नै भएपनि सोही स्थानमा ५७ लाखको बजेट छुट्याएर अहिले काम भइरहेको छ । हाल निर्माण भइरहेको ठाउँभन्दा करिब ६०–७० मिटर पश्चिममा तारजाली निर्माण भए नदी नियन्त्रण प्रयास सफल हुने स्थानीयको भनाइ छ । वर्षको तीन बाली दिने खेतमा अहिले नदी बगिरहेकोले स्थानीय कृषक निकै चिन्तामा छन् । त्यतिमात्रै होइन, बाँकी रहेका खेत पनि बगरमा परिणत हुने चिन्ताले उनीहरुलाई सताइरहेको छ ।
ठेकेदारसँगै उपभोक्ता समिति गठनमै त्रुटी भएकाले आफूहरु समस्यामा परेको उनीहरुले बताएका छन् । जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय हेटौँडाले ठोरी गाउँपालिकाका व्यक्तिलाई उपभोक्ता समितिको अध्यक्ष बनाएपछि जिराभवानी गाउँपालिकाले स्थानीय प्रशासनमार्फत गैरकानुनी उपभोक्ता समिति गठन र आयोजनाको विस्तृत जानकारी उपलब्ध गराउन पत्राचार गरेको थियो । तर, हेटौँडा कार्यालयले अटेर गरेपछि गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई गुहार्यो । त्यसपछि जिल्ला प्रशासन कार्यालयले जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालयसँग गाउँपालिकाले मागेको जानकारी उपलब्ध गराउन निर्देशन दिएको छ ।