काठमाडौं, २७ फागुन । बोक्सीका नाममा कैलालीकी युवतीमाथि भएको आक्रमणको सांसदहरुले चर्को आलोचना गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्ने अधिकांश सांसदले घटनामा संलग्न दोषीलाई तत्काल कारवाही गर्न सरकारसँग माग पनि गरेका छन् ।
माओवादी केन्द्रका नेता वर्षमान पुनले कैलाली घटनाबारे संसदमा आवाज उठाउनु पर्ने र सरकारले त्यसमा जतिसक्दो छिटो सम्बोधन गर्नुपर्ने बताए । सामाजिक विभेदको अन्त्य नभएसम्म विकास र समृद्धिको सपना पुरा नहुने उनको भनाइ थियो ।
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले बोक्सीको आरोपमा आक्रमणमा परेकी युवतिलाई न्याय दिलाएर संसदले राम्रो कामको थालनी गर्नु पर्नेमा जोड दिएकी छन् ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले कैलाली घटनाले मुलुकभरको सामाजिक विभेद उदाङ्गो पारेको र पीडित छात्रामाथि भएको अत्याचार गर्नेलाई सरकारले तत्काल कारवाही गर्नु पर्ने बताएका छन् ।