भाग्यमानी महरा : शिक्षकदेखि सभामुखसम्म | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २० २०८३, शुक्रबार

काठमाडौं, २५ फागुन । माओवादी मूलधारको राजनीतिमा आएयता नेता कृष्णबहादुर महरा पटक–पटक अवसर पाउने नेतामा पर्छन् । माओवादी शक्तिमा रहेका बेला उनले कहिल्यै महत्वपूर्ण पदबाट विमुख भएर बस्नुपरेको छैन ।

माओवादीका अरु नेताको तुलनामा नेता कृष्णबहादुर महरा सबैभन्दा बढी अवसर पाउने ‘भाग्यमानी नेता’का रुपमा चिनिन्छन् । किनकी, शान्ति प्रक्रियापछि माओवादीले राजकीय पदमा अवसर पाउँदा उनी कहिल्यै छटेका छैनन् ।

महरा अहिलेसम्म ४ पटक उपप्रधानमन्त्री सहित ६ पटक मन्त्री र ४ पटक सांसद बनिसकेका छन् । विक्रम सम्बत २०४८ सालमा जनमोर्चाबाट पहिलोपटक सांसद बनेका महरा पुर्नस्थापित संसद, २०६४ र २०७० मा पनि सांसद बनेका थिए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा जितपछि महरा सभामुख पदमा निर्विरोध भएका छन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि पार्टीका तर्फबाट उनले महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् । अन्य पार्टीसँग वार्ता गर्न होस् वा पार्टीको आन्तरिक कलह मिलाउन होस्, उनले कुनै न कुनै महत्वपूर्ण भूमिका निर्वाह गर्ने अवसरबाट कहिल्यै विमुख हुनुपरेको छैन । पूर्वसभामुख ओनसरी घर्ती, नेता गिरिराजमणि पोखरेल लगायतका नेताको दाबीका बाबजुत उनलाई पार्टीले सभामुख पदको उम्मेदवार बनाएको छ ।

तर, शक्तिशाली प्रतिनिधिसभाको सभामुख बन्ने अवसरमा महरालाई घर्ती र पोखरेलले जित्न सकेनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री कसैलाई पनि नबनाउने र शक्तिशाली मन्त्रालयमा पनि मन्त्रीहरु नियुक्त गरिसकेको अवस्थामा महरा अर्को गरिमामय पदमा पुगेका छन् ।

माओवादीभित्र उनी बौद्धिक र शालीन नेताका रुपमा परिचित छन् । हुन पनि महरा पूर्वसभामुख ओनसरी घर्तीदेखि पूर्वमन्त्री वर्षमान पुन, उपराष्ट्रपति नन्दबहादुर पुनसम्मलाई पढाएका गुरु हुन् ।

त्यसो त, महरालाई अध्यक्ष दाहालसँग नजिकिएर फरक विचार राख्ने नेताहरुलाई बाइपास गरेको आरोप पनि लाग्ने गरेको छ ।