काठमाडौं, २३ फागुन । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले नेपाली महिलाहरुले अझै पर्याप्त अधिकार पाउन नसकेको बताएकी छन् । उपमेयर खड्गीले महिला अधिकार प्राप्तीको आन्दोलनमा सहभागी हुन देशभरका सबै महिला अधिकारकर्मीहरुलाई आह्वान गरेकी छन् ।
बुधबार राष्ट्रिय महिला आयोगको १६ औं स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राज्यका हरेक निकायमा पुरुष सरह महिलाहरुको उपस्थिति हुनैपर्ने माग गरिन् । उनले अधिकार प्राप्तीका लागि राजनीतिक आन्दोलनमा सहभागी हुुन पनि देशभरका महिलाहरुलाई अपिल गरेकी छन् ।
उपमेयर खड्गीले महिलालाई पुरुष सरह अधिकार दिने कानुनी मान्यता स्थापित नभएसम्म मुलुकलाई समृद्ध बनाउन नसकिने बताइन् । उनले दवाव दिएकै कारण स्थानीय तहमा महिलाहरुको सहभागिता उल्लेख्य हुन पुगेको स्मरण गरिन्।