काठमाडौं, २३ फागुन । राष्ट्रपति पदको निर्वाचनको लागि नेपाली कांग्रेसको तर्फबाट पूर्व संविधानसभा सदस्य कुमारी लक्ष्मी राईले उम्मेदवारी दर्ता गराएकी छन् ।
नेपाली कांग्रेसको बुधबार बिहान बसेको केन्द्रिय समितिको बैठकले राईलाई उम्मेदवार बनाउने निर्णय गरे लगत्तै संघिय संसद भवन परिसरमा रहेको राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयमा कुमारी लक्ष्मी राईले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् ।
उम्मेदवार राईको उम्मेदवारी मनोनयनको प्रस्तावकमा कांग्रेस सांसद चित्रलेखा यादव, मान बहादुर विश्वकर्मा, पार्वता डिसी चौधरी, देवेन्द्रराज कँडेल, सुरेन्द्रराज पाण्डे रहेका छन् ।
यस्तै समर्थकमा सरिता प्रसाईँ, सुजता परियार, प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी, र राधा घले रहेका छन् । उम्मेदवारी दर्ता पछि संचारकर्मीहरुसंग कुरा गर्दै नेत्री राइले आफ्नो जीत सुनिश्चित रहेको बताइन् ।
नेत्री राई नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका चर्चित नेता देवानसिंह राईकी छोेरी हुन् । राष्ट्रपतिका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयनको समय तोकिएको छ । फागुन २९ गते राष्ट्रपतिको निर्वाचन हुनेछ ।