यस्तो छ एकीकृत पार्टीको प्रारम्भिक नयाँ खाका | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

यस्तो छ एकीकृत पार्टीको प्रारम्भिक नयाँ खाका

bam

काठमाडौं, २३ फागुन । एमाले र माओवादी केन्द्रको एकतापछिको एकीकृत पार्टीले केन्द्र प्रदेश हुँदै वडाभन्दा तलसम्मै सांगठनिक संरचना निर्माण गर्ने भएका छन् । एकीकृत पार्टीको केन्द्रमा तीनवटा आयोग रहनेछ भने प्रदेशमा पनि आयोग गठनको प्रतिवेदन तय भएको छ ।

दुई ठूला पार्टीको एकीकरणपछि नयाँ पार्टीको केन्द्रीय सदस्य ३०१ जनाको रहने भएको छ । एमाले र माओवादी केन्द्रले एकताको विषयमा टुंग्याउन प्रतिवेदन लेखनका लागि गठन गरेको कार्यदलमा ३०१ केन्द्रीय सदस्य, ९९ जनाको पोलिटब्युरो र ३३ सदस्यीय स्थायी समिति सदस्य रहनेगरी छलफल चलेको छ । पार्टी एकता संयोजन समितिले गत ७ फागुनमा प्रतिवेदन समिति र सांगठनिक तथा मस्यौदा कार्यदल गठन गरेका थिए । दुई कार्यदलमा छलफलका क्रमका विभिन्न संख्या रहनेगरी छलफल जारी रहेको नेताले बताएका छन् । संगठन तथा मस्यौदा कार्यदलको संगठनसम्बन्धी बनेको उपसमितिमा भने ३०१ जनाको केन्द्रीय सदस्य रहनेगरी प्रतिवेदन तय भएको स्रोतले बताएको छ ।

३०१ सदस्यीय केन्द्रीय, ९९ पोलिटब्युरो, ३३ स्थायी समिति
केन्द्रदेखि वडाभन्दा तलसम्मै संगठन, केन्द्र र प्रदेशमा आयोग
कार्यदल सदस्य वेदुराम भुसालले स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय सदस्य, प्रदेश, निर्वाचन क्षेत्रदेखि वडाभन्दा तल पनि संगठन रहनेगरी छलफल भइरहेको जानकारी दिए । कार्यदलले केन्द्रमा तीनवटा आयोग र प्रदेशमा पनि आयोग रहनेगरी प्रतिवेदन तय गरेको छ । नेता भुसालले आज (बुधबार) बस्ने कार्यदलको बैठकमा प्रतिवेदन पेस गरिने बताए ।

अर्का कार्यदल सदस्य गिरिराजमणि पोखरेलले आफ्नो उपसमितिले जनवर्गीय संगठनको व्यवस्थापन कसरी गर्ने भन्नेबारे जिम्मा पाएको जानकारी दिँदै समाजवादी क्रान्तिको कार्यदिशालाई मुख्य आधार बनाएर जनवर्गीय संगठनको व्यवस्थापन खाकाको प्रतिवेदन उपसमितिले तय गरेको जानकारी दिए ।

‘दुई पार्टीमा धेरै जनवर्गीय संगठन समान खालका छन्, केही भिन्न अभ्यास गरेर आएका पनि छन्, समाजवादी क्रान्तिको कार्यदिशालाई आधार मानेर यसको व्यवस्थापनमा जोड दिइएको छ,’ माओवादी सचिवालय सदस्यसमेत रहेका नेता पोखरलले भने, ‘दुई ठूला पार्टीबीच त एकतामा सहमति भयो भने जनवर्गीय संगठनमा त ठूलो समस्या हुन्न ।’

दुई दलबीच ७ फागुनमा एकताको सात आधारमा हस्ताक्षर भएको थियो भने सोही दिन दुई कार्यदल गठन भएको थियो । ८ फागुनमा दुई दलले एकताको खाका तय गर्न दुवै कार्यदललाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए । माधव नेपाल संयोजकत्वको पार्टी एकता प्रतिवेदन कार्यदल र माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापाको नेतृत्वको संगठन तथा मस्यौदा कार्यदलले प्रतिवेदन लेखनको कार्यलाई अन्तिम रूप दिएका छन् ।

थापा नेतृत्वको कार्यदलको १५ फागुनमा बसेको बैठकले विधान खाका तयार गर्न वर्षमान पुन र वेदुराम भुसाललाई जिम्मा दिइएको थियो भने जनवर्गीय संगठनको एकीकरणसम्बन्धी प्रस्ताव गर्न गिरिराजमणि पोखरेल र गोकर्ण विष्टलाई जिम्मा दिइएको थियो । दुवै उपसमितिले कार्यदलसम्म आज प्रतिवेदन प्रस्तुत गर्दै छन् । थापा संयोजकत्वको संगठनात्मक र विधान मस्यौदा कार्यदलमा एमालेबाट इश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, वेदुराम भुसाल, सुरेन्द्र पाण्डे र विष्णु पौडेल रहेका छन् भने माओवादी केन्द्रबाट थापाका साथै गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, मातृका यादव र वर्षमान पुन रहेका छन् ।

नेपाल संयोजकत्वको कार्यदलले पनि उपसमिति गठन गरेर प्रतिवेदन लेखनको कार्य अघि बढाइरहेको छ । दुई दलले कार्यदलमार्फत एकताको प्रतिवेदन तय भएसँगै आवश्यक गृहकार्य गरेर चैतभित्रै पार्टी एकता गर्ने तयारी गरेका छन् । आजको राजधानी दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);