एजेन्सी, २२ फागुन । इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा उक्लिएको छ । गएराति क्रिस्टल प्यालेसमाथि ३–२ को जित दर्ता गरी म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा उक्लिएको हो ।
दुई गोलले पछि परेको अवस्थामा म्यानचेस्टर युनाइटेडले खेलको नतिजा उल्टायो । क्रिस्टल प्यालेसले खेलको ११ औं र ४८ औं मिनेटमा गोल गरेर २–० को अग्रता लिइ म्यानचेस्टर युनाइटेडलाई स्तब्ध तुल्याएको थियो । तर क्रिस्टल प्यालेसले आफ्नो अग्रता कायम राखिरहन सकेन । बल आफ्नो नियन्त्रणमा राखेको म्यानुले ५५ औं मिनेटमा गोल फर्कायो ।
स्मलिङको गोलमा अग्रता घटाएको म्यानुले ७६ औं मिनेटमा बराबरी गोल फर्कायो । रोमेलु लुकाकुले बराबरी गोल फर्काएका हुन् । म्यानुले इन्जुरी समयको पहिलो मिनेटमा तेस्रो गोल गरेर क्रिस्टल प्यालेसलाई पराजित गर्यो । जितसँगै म्यानुको २९ खेलबाट ६२ अंक भएको छ । म्यानु शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा १६ अंकले पछाडि छ ।