पैसा लेनदेनमै आठ हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पैसा लेनदेनमै आठ हत्या

murder

राजविराज, १९ फागुन । खाडी मुलुक कतारमा पक्राउ परेका ‘सिरियल किलर’ सकिल हुसेनले पैसाको लेनदेनकै कारण सप्तरी र सुनसरीमा आठ जनाको ज्यान लिएको तथ्य फेला परेको छ । उनले आफ्नै श्रीमती र सासू–ससुराको पनि ज्यान लिएको मुद्दा प्रहरीमा दर्ता छ ।

सप्तरीको टिकुलिया गाविस–७ घर भई कुसहा गाविस–६ बसिरहेका हुसेनलाई कतारमा इन्टरपोलले यसै साता पक्राउ गरेको हो । ‘सिरियल किलर’ सकिलले भारतीय नागरिक मोहम्द मस्तकिम भनिने रइस मियाँसहित मिलेर सप्तरी र सुनसरीमा हत्याको शृंखला नै चलाएको प्रहरीको भनाइ छ । शृंखलाबद्ध हत्याका आरोपी सकिल प्रहरीलाई छक्याउँदै कतार पुगेपछि उनलाई इन्टरपोलमार्फत पक्राउ गरिएको छ । उनका साथी भारतीय नागरिक रइसलाई बैदेसिक रोजगारीका लागि जाने क्रममा केही महिनाअघि त्रिभुवन विमानस्थलवाट प्रहरीले पक्रेको थियो । सकिलसहितको समूहले गरेको सबै हत्याको घटना रकम लेनदेनसँग सम्बन्धित रहेको सप्तरी प्रहरीले बताए । सकिलले सप्तरी मल्हनियाका आरूल मियाँको हत्या गरेपछि अरू सातवटा हत्या गरेको प्रहरीको दाबी छ । ०६४ वैशाख २६ गते आरूलको हत्या भएको थियो । त्यो हत्याको आरोपमा ०६८ मंसिरमा पक्राउ परेका सकिल पुनराबेदन अदालत राजविराजको आदेशमा ०६८ माघ २६ गते रिहा भएका थिए । त्यसपछि उनले एकपछि अर्को गर्दै सात हत्यामा संलग्न रहेको प्रहरीको भनाइ छ ।

ससुरा–बुहारीको हत्या
सकिल र रइसको गिरोहले सप्तरीको कुसहामा रहेका ससुरा सहबुद मियाँ र बुहारी सगिरा खातुनको हत्या गरेको प्रहरी अनुसन्धानवाट खुलेको छ । सहबुदका छोरा तथा सगिराका पति मोहम्द आलम कर्तव्यज्यान मुद्दामा राजविराज कारागारमा थिए । त्यो बेला रइस पनि जेलमै सजाय काटिरहेका थिए । अनि कारागारमा थपिए, सकिल पनि । यी तीनै जनाको कारागारमा चिनजान भयो । आफूबाहिर निस्केपछि जेलमुक्त गराइदिने भन्दै सकिलले ससुरा–बुहारी सहबुद र सगिरासित चिनजान गरे ।

सकिल कारागारबाट निस्केपछि सहबुदको घरमा गएर ‘तिम्रो छोरा कारागारमा रहेछ, म पनि कारागारमा नै थिए, म पैसा खर्च गरेर छुटेको, मेरो चिनजान माथिसम्म छ, पैसा खर्च गर उ पनि छुट्’ भनेर आश्वासन दिए ।

सहबुद मियाँ तथा आलमकी श्रीमती सगिरा खातुन समेत सकिल हुसेनको प्रलोभनमा परेर सुरुमा ७६ हजार र २०६९ साल असोज १ गते दुई लाख रुपैयाँ सकिलले बुझेको प्रहरीमा सहबुदले बयान दिएको छ । कारागारबाट छुटाउन राजविराज हुँदै काठमाडौंसम्म जानुपर्छ भन्ने बहाना बनाई २०६९ असोज १० गते सकिलले सहबुद मियाँ र सगिरा खातुनलाई आफ्नो घर कुशहा बोलाई मोटरसाइकलमा राखेर कल्यायाणपुर गाविस–८ स्थितमा आफैंले सञ्चालन गर्ने कुखुरा फर्ममा ल्याएर दिनभरि राखे । २ लाख ७६ हजार पचाउन सकिल र रइस मिलेर सासू–बुहारीको त्यहीं हत्या गरेको प्रहरीको भनाइ छ ।

यसरी खुल्यो हत्याको रहस्य
सप्तरीको कुसहाका ससुरा–बुहारी सहबुद र सगिरा दुबै जनालाई कर्तव्य गरी हत्या गरेर कुखुरा फर्ममा गाडेको विशेष सूचना प्रहरीलाई प्राप्त भएपछि २०७२ साल जेठ ६ गते प्रहरीले त्यहाँ उत्खनन गर्ने योजना बनाएको थियो ।

घटनाका फरार आरोपी सकिल हुसेनको उक्त पुरानो बन्द अवस्थामा रहेको कुखुरा फर्म आसपास उत्खनन कार्य गर्दा पहिलोपटक सहुबद मियाँको मानव कंकाल फेला परेको थियो । दोस्रो पटक फेरि २०७२ असार ४ गते उत्खनन गर्दा महिलाले लगाउने कपडा सहितको महिला मानिसको जस्तो देखिने मानव कंकाल फेला परेका थियो । उत्खनन गर्दा फेला परेको दुबै मानव कंकालहरू डीएनए परक्षिणका आधारमा सहबुद मियाँ र सगिरा खातुनको हो भन्ने पुष्टि भएको थियो ।

लेनदेनमै हत्या
सप्तरीको जन्डौल ६ की दुलारीदेवी साहको पति धीरेन्द्र साह कर्तव्य ज्यानसम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा सप्तरी जिल्ला कारागारमा रहेको अवस्थामा २०७० सालको असोज कात्तिक महिनामा सकिल हुसेनसहित गुल्जार मियाँ र रइस मियाँ लगायतका व्यक्तिहरूले दुलारीदेवीसित भेट गरी तिम्रो श्रीमान् कारागारमा रहेछ, ६ लाख रुपैयाँसम्म खर्च गर्ने भए हामी तिम्रो श्रीमान्लाई कारागारबाट निकालिदिन्छाैं भन्ने आश्वासन दिएको अनुसन्धानले खुलेको छ । सकिल हुसेन समेत भई दुलारी देवी साहको ससुरा बुबाको नामको जन्डौल गाविसस्थित पूर्वपश्चिम राजमार्गमा रहेको जग्गा बेच्न लगाई ६ लाख रूपैयाँ दुलारी देवीको साथमा जम्मा गर्न लगाएको प्रहरी अनुसन्धानले देखाएको छ ।

दुलारीदेबीसित ६ लाख रकम जम्मा भएपश्चात् २०७० मंसिर ६ गते रईस र सकिल हुसेन समेत दुलारीदेवीलाई उक्त रुपैयाँसहित राजविराजस्थित कारागार कार्यालय सप्तरी ल्याएका थिए । जसरी पनि तिम्रो श्रीमान् धीरेन्द्रलाई छोडाइदिन्छु भन्दै रइस र सकिल हुसेनले दुलारीदेवीलाई साँझसम्म राजविराजमै अलमलमा पारेका थिए । साँझको बेला मोटरसाइकलमा चढाई जन्डौल चोकभन्दा उत्तर चुरे जंगलको फेदीमा पुर्‍याएपछि हत्या गरी खाल्टो खनी गाडेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

दुलारीदेवी गाउँघरमा नदेखिएको र २ वर्षसम्म कहींकतै फेला नपरेपछि गाउँलेहरूको आशंका र गोप्य सूचनाका आधारमा २०७० साल मंसिर महिनाको पहिलो हप्ता जन्डौल ८ स्थित चुरे जंगलको फेदीमा पुर्‍याई कर्तव्य गरी हत्या गरेको खुलेपछि सम्भावित स्थानहरूमा ०७२ वैशाख २७ गते उत्खनन गर्दा महिलाजस्तो मानव प्रकृतिको कंकाल फेला परेको र डीएनए परीक्षणपश्चात सो कंकाल दुलारीदेवीको नै भएको पुष्टि भएको थियो । सो घटनामा पनि सकिल र रइस मुख्य रूपमा संलग्न प्रहरीको दाबी छ ।

पक्राउ परेका सिरियल किलर सकिल र रइससहितको समूहले पाँचौं हत्या ३ लाख पचाउने मनसायले गरेको प्रहरीको खाबी छ । त्रिकोल ५ बस्ने स्वर्गीय जयराम साहकी पत्नी निर्मलादेवी साहलाई सकिल र रइस समूहले छोरा दीपकलाई विदेश पठाइदिने भन्दै फकाएका थिए । दिपकलाई बैदेसिक रोजगारीमा पठाइदिने बहाना बनाई ३ लाख जम्मा गर्न लगाएका थिए । निर्मलादेवीले उक्त रकम जम्मा गरेपछि दीपकलाई मेडिकल गर्ने बहानामा मिति २०७० चैत १ गते बेलुकी घरबाट लहान पुर्‍याई सोही राती रइस र सकिल सहितको समूहले निर्मलदेवी साहलाई घाँटी थिची, धारिलो हतियारले पेटमा काटी कर्तव्य गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ । हत्या गरेर निर्मलादेवीको शवलाई बाकसमा राखी उनीसित भएको ३ लाख रुपैयाँ र कागजात लिएर फरार भएको प्रहरीको भनाइ छ ।

आफ्नैलाई पनि छाडेनन्
पक्राउ परेका सकिलले सुनसरी सदरमुकाम इनरुवामा भएको तीन जनाको हत्या गरेको सप्तरी प्रहरीको दाबी छ । सकिलले इनरुवास्थित आफनो डेरामा बोलाएर रइस सहितका साथीसित मिली आफ्ना ससुरा सप्तरीको जन्डौलका ५० वर्षीय इद्रिस नट मियाँ, सासू ४५ वर्षीया जैतुन खातुन र श्रीमती १७ वर्षीया सेरुन खातुनको हत्या गरेको प्रहरीको दाबी छ । सदरमुकाम इनरुवामा रहेको जिल्ला प्रशासन कार्यालयको पुरानो भवनभन्दा तीन सय मिटर पूर्व बारीमा तीन मानव कंकाल फेला परेको थियो । नटका ज्वाइँ सकिल अन्सारीले डेरामा उपचारका लागि आएका नट दम्पती र आफ्नी श्रीमतीलाई बोलाएका थिए । सकिलले ५ कठ्ठा जग्गाको विषयमा विवाद भएपछि सासू, ससुरा र श्रीमतीको हत्या रइससित मिलेर गरेको प्रहरीको दाबी छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);