आइतबार मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८२, शनिबार

आइतबार मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

prachanda oli yadhav

काठमाडौं, १८ फागुन । सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आइतबार मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी तयारी अगाडि बढाएका छन् । दुई दलले संघीय समाजवादी फोरमलाई समेत सरकारमा सहभागी गराएर सम्भव भए आइतबार नै सरकारलाई पूर्णता दिने तयारी गरेका हुन् ।

तीन दलबीच संविधान संशोधनमा सहमति गर्दै सरकारमा सहभागी हुने विषयमा हस्ताक्षर गर्ने तयारीसाथ शनिबारका लागि बैठक बोलाइएको प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । सत्तारुढ दल र फोरमबीच बिहीबार नै सहमतिमा हस्ताक्षर गर्ने र फोरम सरकारमा सहभागी हुने बताइएको थियो । तर, फागु पर्वमा नेताहरू व्यस्त बनेपछि तीन दलबीच बिहीबार थप छलफल हुन सकेन ।

होलीमा व्यस्त भएपछि समय अभावले बिहीबार तीन दलबीच सहमति भएन
फोरमले पार्टीभित्र आन्तरिक गृहकार्य गर्ने भनेपछि शनिबार अर्को बैठक बस्ने
बैठकमा फोरमले पार्टीभित्र सल्लाह गर्न बाँकी रहेको बताएपछि तीन दलबीच शनिबार पुनः बैठक बसेर टुंग्याउने समझदारी भएको छ । ‘माओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम अध्यक्ष उपेन्द्र यादव दुवै जना अलिक हतारमा हुनुहुन्थ्यो, अध्यक्ष यादवले पार्टीभित्र पनि गृहकार्य गर्ने बताएपछि शनिबार पुनः बैठक बसेर सहमति जुटाउने समझदारी भएको छ,’ प्रधानमन्त्रीको सचिवालयले राजधानीसँग भन्यो ।प्रधानमन्त्री निवास बालुवाटारमा ओली, माओवादी अध्यक्ष दाहाल, फोरम अध्यक्ष यादवबीच छलफल भएको थियो । दाहाल र यादव बिहीबार नै उपत्यकाबाहिर जानुपर्ने भएपछि आवश्यक छलफलबिनै बैठक सकिएको थियो । यसअघि ओली, दाहाल र यादवबीच बुधबार पनि छलफल भएको थियो । संविधान संशोधनका विषयमा तीन दल सकारात्मक छन् । तीन दलबीच आपसी समझदारीमा संविधान संशोधन गर्ने सहमति जुटिसकेको नेताहरूको दाबी छ । तर, मन्त्रालय बाँडफाँटको विषय भने अन्तिम टुंगो लाग्न बाँकी छ । फोरमले तीन मन्त्रालय माग गरेको छ भने एमाले र माओवादीले भने एक मन्त्री र एक राज्यमन्त्री दिन सकिने बताएका छन् ।

बालुवाटारमा बिहीबार बसेको बैठकमा पनि मन्त्रालय बाँडफाँटको विषयमा कुरो अड्किएको थियो । एमाले–माओवादीले फोरमलाई दुईवटा मन्त्रालय दिने गरी आन्तरिक तयारी गरेका छन् । तर, फोरमले तीनवटा मन्त्रालयमा अड्डी लिएको छ । एक माओवादी नेताका अनुसार सत्तारुढ दलले एउटा मात्र मन्त्रालय र एक राज्यमन्त्री दिन सक्ने अडान राख्नु र फोरमले तीन मन्त्रालय माग्नुले अन्तिममा २ मन्त्रालयमा सहमति हुने सम्भावना रहेको बताउँछन् ।

यसअघि एमाले र माओवादी केन्द्रले क्रमशः १०–७ मन्त्रालय बाँडफाँट गरेका थिए । फोरम सरकारमा सहभागी हुने अवस्थामा उनीबीच एकएक मन्त्रालय छोड्ने सहमति भएको छ ।एमाले नेता सुवासचन्द्र नेम्वाङले फोरमसँग सकारात्मक ढंगले छलफल भइरहेकाले अब तीन दलबीच संविधान संशोधनलगायत विषयको सहमतिमा हस्ताक्षर भएलगत्तै फोरमसहितको सरकार बन्ने बताए । ‘हामीबीच छलफल अत्यन्तै सकारात्मक रूपमा नै भइरहेको छ,’ उनले भने, ‘तीन दलबीच सहमतिमा हस्ताक्षर भएलगत्तै अब सरकारलाई पूर्णता दिने तयारी भइरहेको छ ।’
फोरमलाई सरकारमा सहभागी गराउन एमाले र माओवादीले सरकार विस्तारलाई रोकेर राखेका छन् । एमाले अध्यक्ष ओली ३ फागुनमा प्रधानमन्त्रीमा चयन भएका थिए । सोही दिन उनले दुई जना मन्त्रीलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका थिए । १४ फागुनमा प्रधानमन्त्री ओलीले दोस्रोपटक माओवादीका दुई र एमालेका दुई मन्त्री थप गरेका थिए । फोरम सरकारमा आउन सकारात्मक बनेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने कार्य रोकेका हुन् । आजको राजधानी दैनिकमा यस्तो खवर छ ।