विपद् पुनर्निर्माणलाई प्राथमिकता दिँदै वागमती सरकार, ६ अर्ब जुटाउन मन्त्रालयका बजेट कटौती हुँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८३, शुक्रबार

विपद् पुनर्निर्माणलाई प्राथमिकता दिँदै वागमती सरकार, ६ अर्ब जुटाउन मन्त्रालयका बजेट कटौती हुँदै

काठमाडौं ।

भोटेकोशी बाढीले क्षति पु¥याएका क्षेत्रको पुनर्निर्माण र प्रभावित नागरिकको पुनःस्थापनालाई प्राथमिकतामा राख्दै वागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट पुनःप्राथमिकीकरण गर्ने भएको छ ।
वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भौतिक संरचनाको पुनर्निर्माणमा मात्र सिमित नभई प्रभावित नागरिकको आवास, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, आर्थिक गतिविधि र सामाजिक जीवनलाई सामान्य अवस्थामा फर्काउने गरी ६ अर्ब रुपैयाँ खर्च गरिने बताएका छन् । ल्हेन्दे भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि प्रदेश सरकारले ६ अर्ब रुपैयाँ जुटाउने तयारी गरेको हो । त्यसका लागि चालु आर्थिक वर्ष २०८३/८४ मा विनियोजित बजेटबाट केही कार्यक्रम कटौती गरिने भएको छ । प्रदेश सुशासन केन्द्र, जावलाखेलमा गत सोमबार बसेको समन्वय बैठकले ६ अर्ब रुपैयाँ बजेट व्यवस्थापन गर्ने निर्णय गरेको थियो । आर्थिक मामिला तथा योजना मन्त्रालयकाअनुसार पुँजीगततर्फ अग्रिम दायित्व सिर्जना नभएका कार्यक्रमबाट बजेट कटौती गरिनेछ ।
भौतिक पूर्वाधार विकास मन्त्रालय तथा खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालयको बजेटमा २० प्रतिशत कटौती गर्ने तयारी छ । त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अन्य ६ मन्त्रालयका कार्यक्रमबाट १५ प्रतिशत बजेट कटौती गरिनेछ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता उपसचिव नुमानन्द अधिकारीकाअनुसार कृषि र स्वास्थ्य मन्त्रालयबाहेक अन्य मन्त्रालयले बजेट कटौतीका लागि कार्यक्रम विवरण सिफारिस गरिसकेका छन् । बजेट कटौती गर्दा स्रोत सहमति भइसकेका आयोजना तथा चालु खर्चलाई भने यथावत् राखिनेछ । दायित्व सिर्जना नभएका कार्यक्रमबाट मात्रै बजेट व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको अधिकारीले बताएका छन् ।
वागमती सरकारले चालु आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएको थियो । त्यसमध्ये चालुतर्फ २२ अर्ब ९६ करोड १९ लाख ३० हजार र पुँजीगततर्फ ४३ अर्ब ९७ करोड १४ लाख ३ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।
पूर्वाधारसँगै प्रभावितको जीवनस्तर सुधार्ने लक्ष्य
प्रदेश सरकारले जुटाउन लागेको ६ अर्ब रुपैयाँ सडक, पुल तथा भौतिक संरचनाको पुनर्निर्माणमा मात्रै सिमित नहुने जनाएको छ । बाढी प्रभावित नागरिकको आवास, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, आर्थिक गतिविधि र सामाजिक जीवनलाई सामान्य अवस्थामा फर्काउने गरी बजेट परिचालन गर्ने सरकारको योजना छ । मुख्यमन्त्री किरण थापा मगरले स्थानीय आवश्यकताका आधारमा पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गरिने बताउनु भयो । यसका लागि सरकारले १३ र १४ मंसिरमा रसुवा, नुवाकोट, धादिङ र चितवन पुगेर प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासँग सुझाव लिने तयारी गरेको छ । स्थानीय तह तथा वडाको सिफारिस र सहभागितामा आयोजना छनोट गरिनेछ । पुनर्निर्माणका नाममा एउटै काममा दोहोरो बजेट खर्च हुन नदिन र उपलब्ध स्रोतको अधिकतम उपयोग गर्न सम्बन्धित निकायबीच समन्वय गरिने सरकारको भनाइ छ । तत्काल पुनर्निर्माण तथा पुनःस्थापना गर्नुपर्ने आयोजनाको माग संकलन र सूची तयार गर्ने जिम्मेवारी प्रदेश नीति तथा योजना आयोगको समन्वयमा अघि बढाइने आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयकी प्रवक्ता उपसचिव अनिता तामाङले जानकारी दिनुभयो । छनोट भएका आयोजना सम्बन्धित मन्त्रालय तथा निकायमार्फत कार्यान्वयन गरिनेछ ।
दीर्घकालीन जोखिम न्युनिकरणमा पनि जोड
बाढी प्रभावित क्षेत्रका समस्या तत्काल सम्बोधन गर्नुका साथै भविष्यमा हुन सक्ने जोखिम न्यूनीकरणलाई पनि प्रदेश सरकारले योजनामा समेटेको छ । जोखिमयुक्त बस्तीको पहिचान र स्थानान्तरण, जग्गा व्यवस्थापन, प्रभावित नागरिकको जीविकोपार्जन सुनिश्चितता तथा पूर्वाधार र सम्पदाको संरक्षणका विषयमा सम्भाव्यता अध्ययन गरिने भएको छ । यसका आधारमा दीर्घकालीन पुनर्निर्माण तथा पुनःस्थापनाका लागि गुरुयोजना तयार गर्ने सरकारको निर्णय छ ।
बजेट कटौतीबाट जुटाइने ६ अर्ब रुपैयाँलाई प्रभावित क्षेत्रको तत्कालीन आवश्यकता र दीर्घकालीन विकाससँग जोड्ने प्रदेश सरकारको तयारी छ । अब स्थानीय तहबाट प्राप्त हुने माग र सिफारिसका आधारमा कुन क्षेत्रमा कति बजेट खर्च गर्ने भन्ने आयोजना तथा कार्यक्रम तय हुनेछन् ।

Leave a Reply

ताजा समाचार