राष्ट्रिय स्वाभिमानमा आँच आउने कुनैपनि काम स्वीकार्य हुँदैनः माधव नेपाल | ईमाउण्टेन समाचार

Our Network

मंसिर ५ २०८३, शनिबार

राष्ट्रिय स्वाभिमानमा आँच आउने कुनैपनि काम स्वीकार्य हुँदैनः माधव नेपाल

काठमाडौँ ।

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राष्ट्रिय स्वाभिमानमा आँच आउने कुनैपनि गतिविधि स्वीकार गर्न नसकिने बताउनुभएको छ । शनिवार भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै उहाँले राष्ट्रियता, देशभक्ति, राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा अभियानको पहिलो उद्देश्य रहेको बताउनुभएको हो । उहाँले कुनैपनि सरकारले राष्ट्रिय स्वाभिमानमा आँच पुग्ने काम गर्न खोजे त्यसलाई स्वीकार गर्न नसकिने स्पष्ट पार्नुभयो । जनतामा देशभक्तिको भावना जगाउने, देशप्रेम बढाउने र आफू नेपाली हुनुको गौरववोध गराउने उद्देश्यले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ । नेपालले राष्ट्रियता र स्वाधीनताको विषयलाई केवल राजनीतिक मुद्दाका रूपमा नभई मुलुकको अस्तित्व, पहिचान र आत्मसम्मानसँग जोडिएको विषयका रूपमा लिनुपर्ने बताउनु भयो । नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्नु सबैको साझा दायित्व भएको उहाँको भनाइ छ । उहाँले पछिल्लो अन्तर्राष्ट्रिय परिस्थितिमा पनि नयाँ परिवर्तन देखिन थालेको उल्लेख गर्दै विश्वका विभिन्न मुलुकमा कम्युनिष्ट तथा वामपन्थी आन्दोलन पुनः सक्रिय हुन थालेको दाबी गर्नुभयो । ब्राजिलमा वामपन्थी नेता लुलाले राष्ट्रपतीय निर्वाचनमा ६ करोड ५० लाख मत प्राप्त गरी विजय हासिल गरेको उदाहरण दिँदै उहाँले ल्याटिन अमेरिकाका विभिन्न देशमा वामपन्थी शक्तिहरू अगाडि बढिरहेको बताउनु भयो ।

त्यस्तै मेक्सिको, बुल्गेरिया, स्पेन, फ्रान्स, इटाली र अमेरिकालगायत देशमा पनि कम्युनिष्ट आन्दोलनप्रति आकर्षण बढिरहेको उहाँको दाबी छ । विश्व राजनीतिमा देखिएको यस्तो परिवर्तनबाट नेपाली कम्युनिष्टहरूले प्रेरणा लिनुपर्ने उहाँले बताउनु भयो । नेपालले विश्वव्यापी रूपमा देखिएको परिवर्तनका बाबजुद नेपाली कम्युनिष्ट आन्दोलनका सामु चुनौतीहरू रहेको स्वीकार गर्नुभयो । तर चुनौतीबाट निराश नभई कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्ने जिम्मेवारी पूरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले राष्ट्रियताको रक्षा गर्नुका साथै जनअधिकारको संरक्षण, जनताका समस्या उजागर र समाजको परिवर्तन तथा रूपान्तरणका लागि कम्युनिष्टहरूले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताउनु भयो । केन्द्र, प्रदेश र स्थानीय तहमा रहेका पार्टीका नेता तथा जनप्रतिनिधिले जनमुखी नीति अवलम्बन गर्दै जनताको हितमा काम गर्नुपर्ने उहाँको भनाइ छ । राष्ट्रिय जागरण अभियानले पार्टीको संगठनात्मक सुदृढीकरणसँगै जनतामा राष्ट्रियता, देशभक्ति र स्वाभिमानको भावना थप बलियो बनाउने अपेक्षा गरिएको उहाँले बताउनु भयो ।

Leave a Reply

ताजा समाचार