काठमाडौँ ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालको शिक्षा प्रणाली सुधारका लागि सामुदायिक विद्यालयको जिम्मेवारी स्थानीय तह, समुदाय र विद्यालयले लिनुपर्ने बताउनुभएको छ । शुक्रवार जनकपुरधाममा प्रिन्सिपल एसोसिएसन अफ नेपाल (प्यान) को राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले शिक्षा सुधारको मुख्य जिम्मेवारी स्थानीय सरकार र समुदायको हुनुपर्ने बताउनुभएको हो । यादवले नेपालको शिक्षा प्रणाली सन्तोषजनक नरहेको उल्लेख गर्दै सार्वजनिक र निजी शिक्षाबीचको विभाजनले शैक्षिक क्षेत्रमा असमानता बढाएको धारणा राख्नुभयो । शिक्षा समाजलाई समान बनाउने माध्यम हुनुपर्ने भए पनि नेपालमा दुई धारको शिक्षा प्रणाली विकास हुँदा त्यसको उद्देश्य कमजोर भएको उहाँको भनाइ छ । पूर्वराष्ट्रपति यादवले शिक्षा सुधारका लागि परिवार, समाज, विद्यालय र स्थानीय सरकारलाई प्रमुख सरोकारवालाका रूपमा लिनुपर्ने बताउनु भयो । विशेषगरी गाउँपालिका तथा नगरपालिकाले विद्यालयको स्वामित्व र जिम्मेवारी नलिएसम्म सामुदायिक शिक्षामा सुधार सम्भव नहुने उहाँको भनाइ छ । विगतमा समुदाय आफैँले विद्यालय सञ्चालन गर्ने गरेको स्मरण गर्दै उहाँले अहिले स्थानीय जनप्रतिनिधिले त्यसको जिम्मेवारी लिनुपर्ने बताउनु भयो । विद्यालयको नेतृत्व गर्ने प्रधानाध्यापकलाई सक्षम र जिम्मेवार बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
यादवले शिक्षक र प्राध्यापकको सम्मान तथा मर्यादा पुनःस्थापित गर्नुपर्ने पनि बताउनु भयो । विकसित मुलुकमा शिक्षक र प्राध्यापकलाई उच्च सम्मान र राम्रो पारिश्रमिक दिने गरिएको उल्लेख गर्दै नेपालमा शिक्षकको समयमै तलब नपाउने अवस्थासमेत रहेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । शिक्षक र चिकित्सक दुवै पेसामा व्यावसायिक नैतिकता महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले समाजमा शिक्षक र चिकित्सकप्रतिको सम्मान घट्नुका कारणबारे सम्बन्धित पेसाकर्मीले पनि आत्मसमीक्षा गर्नुपर्ने बताउनु भयो । नेपालको शैक्षिक अवस्थाबारे चर्चा गर्दै यादवले २००७ सालपछि विद्यालय विस्तार भएपनि शिक्षा प्रणाली अपेक्षाअनुसार विकास हुन नसकेको बताउनु भयो । २०४६ सालपछिको राजनीतिक परिवर्तनपछि पनि शिक्षा क्षेत्रमा अपेक्षित सुधार हुन नसकेको उहाँको भनाइ छ ।





