नेतृत्वविरुद्ध उभिँदा एमाले पराजित भएको थापाको निष्कर्ष | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३ २०८३, बिहीबार

नेतृत्वविरुद्ध उभिँदा एमाले पराजित भएको थापाको निष्कर्ष

काठमाडौँ । 

नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभामा संसदीय दलका नेता रामबहादुर थापाले पार्टीभित्रको आन्तरिक एकता कमजोर हुँदा निर्वाचनमा पराजय भोग्नुपरेको निष्कर्ष सुनाउनुभएको छ । बिहीवार काठमाडौंमा जारी एमाले राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै थापाले पार्टीले प्रतिद्वन्द्वीविरुद्ध प्रभावकारी सहकार्य गर्न नसकेको, आन्तरिक एकता कायम गर्न नसकेको र जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न नसकेको बताउनुभएको हो । उहाँले पार्टीभित्रको विभाजन, संगठनात्मक अराजकता र दक्षिणपन्थी अवसरवादलाई नियन्त्रण गर्न नसक्नु पनि पराजयका कारण रहेको उल्लेख गर्नुभयो । अल्गोरिदमको भ्रम र डिप स्टेटको षड्यन्त्र चिर्न नसकेको उहाँको भनाइ छ । थापाले पार्टीले मुख्य प्रतिद्वन्द्वीविरुद्ध सहकार्य गर्दा र जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्दा निर्वाचनमा विजय हासिल गरेको स्मरण गर्नुभयो । नेतृत्वको वरिपरि एकताबद्ध हुँदा पार्टी हाबी हुने तर नेतृत्वविरुद्ध उभिँदा दुवै पक्ष पराजित हुने उनको टिप्पणी छ । उहाँले केन्द्रिय समितिले विगतको निर्वाचनबारे गम्भीर आत्मसमीक्षा गरी सही निष्कर्ष निकालेको भन्दै त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्बोधनका क्रममा थापाले पछिल्लो राजनीतिक घटनाक्रममा भू–राजनीतिक शक्तिहरूबीचको संघर्ष तिब्र बन्दै गएको र पपुलिस्ट शक्तिहरूको आन्तरिक सत्ता संघर्ष चर्किरहेको बताउनु भयो । लोकतान्त्रिक शक्तिहरूबीचको सहकार्य बढ्दै गएको तथा जनतामा व्याप्त भ्रम हट्दै आक्रोश बढिरहेको उनको विश्लेषण छ । उहाँले संसदीय, सडक र कानूनी संघर्षका माध्यमबाट फासिवादको प्रतिवाद गर्दै त्यसलाई पराजित गर्नुपर्ने बताउनु भयो । संविधान र राष्ट्रिय स्वाभिमानको रक्षा तथा समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न संघर्षका सबै मोर्चामा एकतावद्ध भएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि एकता, संघर्ष र विजयको विकल्प नभएको उल्लेख गर्दै थापाले पार्टीका नेता तथा कार्यकर्तालाई विजयको मार्गमा दृढतापूर्वक अघि बढ्न आह्वान गर्नुभयो । –

Leave a Reply