विपद् प्रभावितलाई राहत वितरणमा ढिलाइः तिहारलगत्तै १५ हजार वितरण गर्ने प्राधिकरणको तयारी | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २० २०८३, शुक्रबार

विपद् प्रभावितलाई राहत वितरणमा ढिलाइः तिहारलगत्तै १५ हजार वितरण गर्ने प्राधिकरणको तयारी

काठमाडौं ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण गर्ने तयारी गरेको छ ।
प्राविधिक जटिलता र कार्यालयको विदाका कारण रोकिएको राहत वितरणलाई तिहारपछिको पहिलो दिनबाटै शुरु गर्ने गरी कार्ययोजना बनाइएको प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बताउनुभएको हो । शुक्रवार सिंहदरबारमा बसेको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समितिको बैठकमा बोल्दै कार्यकारी प्रमुख उप्रेतीले राहत वितरणमा ढिलाइ हुनुका कारण र प्राधिकरणले गरिरहेका प्रयासबारे जानकारी दिनुभयो । उहाँले सरकारी प्रक्रियागत झन्झट र विपद् प्राधिकरणको प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण राहत वितरणमा केही विलम्ब भएको स्वीकार गर्नुभयो ।
उप्रेतीकाअनुसार सर्भर डाउन भएको अवस्थामा पनि लाभग्राहीको खातामा रकम पु¥याउन कागजी प्रमाणीकरणसहितको ‘मिटिगेसन एप्रोच’ अपनाइएको छ । यसअघि नै विकास साझेदार संस्थाहरुसँगको सहकार्यमा ५ हजार १ सय १६ जना लाभग्राहीलाई ४५ हजार रुपैयाँ बराबरको नगद वा भाउचर उपलब्ध गराइएको छ । उहाँले मादक पदार्थबाहेक दैनिक उपभोग्य वस्तु खरिद गर्न मिल्ने गरी उक्त भाउचर वितरण गरिएको जानकारी दिनुभयो । सडक पूर्वाधारको विषयमा बोल्दै उहाँले भूगोलको जटिलताका बाबजुद सडक खुलाउने प्रयास भइरहेको बताउनु भयो । दीर्घकालीन समाधानका लागि रसुवागढी–त्रिशूली सडक खण्डलाई चीन सरकारको सहयोगमा वातावरणीय सन्तुलन कायम गर्दै स्तरीय सडक निर्माण गर्नुपर्ने अवधारणा अघि सारिएको उहाँले उल्लेख गर्नुभयो ।

अस्थायी र स्थायी आवास निर्माण कार्यलाई तिब्रता दिइएको बताउँदै उप्रेतीले तिहारको विदाका समयमा पनि सम्बन्धित टिमले काम गरिरहेको जानकारी दिनुभयो । विपद् व्यवस्थापनमा देखिएका नीतिगत र प्रक्रियागत बाधाहरू फुकाउन प्राधिकरण सक्रिय रहेको उहाँको भनाइ छ ।

Leave a Reply

ताजा समाचार