काठमाडौं ।
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडकमा अब ट्राफिक उभ्याउने भन्दा पनि स्मार्ट सिस्टममार्फत व्यवस्थापन हुनुपर्ने बताउनुभएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार राजधानीमा आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी अन्तक्रिया तथा प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति गजुरेलले ट्राफिक प्रहरीलाई सडकमा उभ्याएर यातायात व्यवस्थापन गराउने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनु भयो । उहाँले ट्राफिक प्रहरीको मुख्य काम ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउने, नियम पालना गर्न जनचेतना फैलाउने र सडक सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गर्ने हुनुपर्ने बताउनु भयो । उहाँकाअनुसार अहिले उपत्यकाका विभिन्न स्थानमा ट्राफिक बत्ती थप जडान गर्ने र बिग्रिएका बत्ती मर्मत गरी सञ्चालनमा ल्याउने काम भइरहेको छ । विगतमा जडान गरिएका धेरै ट्राफिक बत्ती सञ्चालनमा नरहेको अवस्थामा अहिले तिनलाई सुधार गरी सञ्चालनमा ल्याउन थालिएको छ । गजुरेलले यातायात व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन ट्राफिक कन्ट्रोल रुम तथा प्रविधिमा आधारित प्रणालीमा थप लगानी गरिने पनि बताउनु भयो ।
कार्यक्रममा आकाशे पुलको आवश्यकता सम्बन्धमा उठेको प्रश्नमा उहाँले स्मार्ट ट्राफिक लाइट पूर्ण रूपमा कार्यान्वयन गर्नसके सडक पार गर्न आकाशे पुलमाथिको निर्भरता कम हुने बताउनु भयो । विकसित देशहरूमा समेत आकाशे पुलको प्रयोग तुलनात्मक रूपमा कम रहेको उल्लेख गर्दै उहाँले सुरक्षित सडक आवागमनका लागि स्मार्ट ट्राफिक प्रणालीमा लगानी गर्नुपर्ने बताउनु भयो ।
गजुरेलका अनुसार आकाशे पुल निर्माण नगर्ने सरकारको नीति छैन । आवश्यक स्थानमा पुल निर्माण जारी रहने छ । केही स्थानमा आकाशे पुल निर्माण भइरहेको र थप आवश्यक स्थानमा पनि निर्माण गरिनेछ ।
सभापति गजुरेलले भन्नुभयो,‘अब सडकमा ट्राफिक प्रहरी उभिनु भएन, सबै स्मार्ट ट्राफिक लाइटको माध्यमबाट स्मार्ट ट्राफिक सिस्टमको माध्यमबाट यातायात व्यवस्थापन हुनुप¥यो । ट्राफिक प्रहरीको काम कसैले नियम मिच्यो, पालना गरेन भने जनचेतनाको कार्यक्रमहरू फैलाउने र उहाँहरूलाई चाहिँ कारबाहीको दायराभित्र ल्याउने, त्यो हाम्रो चाहिँ उद्देश्य छ । त्यो उद्देश्यका साथ हामी अहिले काम गरिराखेका छौँ, तपाईंले देख्नु पनि भएको छ । अहिले ट्राफिक बत्तीहरू थप जडान भइराखेका छन्, सुधार भइराखेका छन्, पहिले पहिले धेरै ठाउँमा ट्राफिक बत्ती जडान थियो, बल्दैनथ्य, अब अहिले बन्न थालेका छन् । यो भनेको के हो त भन्दा तपाईंहरूलाई सहज बनाइदिन खोजेका हौँ, यातायात सहज व्यवस्थापन होस् भनेर हामी जान लागेको हो, तपाईंहरूको पनि यहाँ ट्राफिक कन्ट्रोल रुम जुन छ, त्यो मैले योभन्दा अघिल्लो पटक हेरे पनि त्यो पनि व्यवस्थित छ, यस्ता सिस्टमलाई हामी थप लगानी गर्नेछौँ । अर्को कुरा आकाशे पुलको हामीलाई धेरैभन्दा धेरै आकाशे पुलको आवश्यकता छ भनेर चाहिँ तपाईंहरूबाट आयो, म चाहिँ के भन्छु भन्दा हामीले स्मार्ट ट्राफिक लाइट पूर्ण रूपमा लागु गर्न सक्यौँ भनेदेखि आकाशे पुलको धेरै जरूरत पनि हुँदैन । अहिले विकसित देशहरूमा देख्नुभयो भनेदेखि आकाशे पुलको एकदमै कम प्रयोग हुन्छ, किनभने ट्राफिक लाइट पूर्ण रूपमा जडान गर्नसक्यौँ भनेदेखि त्यसैले नै सुरक्षित बाटो काट्नको लागि त्यसले नै एउटा सुविधा दिन्छ । त्यसै भएर हाम्रो मुख्य अहिले आकाशे पुलमा लगानी गर्नेभन्दा पनि इन्टेलिजेन्ट ट्रान्सपोर्टेसन सिस्टम अथवा स्मार्ट ट्रान्सपोर्टेसन सिस्टममा हामीले चाहीँ लगानी गर्नेछौँ । त्यो भन्दैमा फेरि आकाशे पुल नबनाउने भन्ने पनि होइन, केही ठाउँमा बन्दै पनि छन् र बनाउने पनि जानकारी गराउन चाहन्छु ।’
ट्राफिक प्रहरीलाई ड्युटीका क्रममा बस्ने ठाउँ, पिउने पानी र शौचालयको समेत उचित व्यवस्था नभएको गुनासोप्रति आफू गम्भीर रहेको उहाँले बताउनु भयो । ट्राफिक प्रहरीका आधारभूत सुविधा व्यवस्थापनका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता पनि उहाँले जनाउनु भयो ।
आर्थिक अनुशासन र प्रहरी आचरणमा कुनै सम्झौता नगर्न निर्देशन
कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरी कर्मचारीलाई आर्थिक अनुशासन र प्रहरी आचरणमा कुनै सम्झौता नगर्न निर्देशन दिनुभयो ।
ट्राफिक प्रहरी कर्मचारीले राज्यले उपलब्ध गराएको तलब तथा सेवा सुविधामै सन्तुष्ट रहनुपर्ने बताउँदै उहाँले आर्थिक अनियमिततामा संलग्न हुनेलाई कुनै छुट नहुने स्पष्ट पार्नुभयो । काफ्लेले व्यक्तिगत स्वार्थभन्दा सार्वजनिक हितलाई प्राथमिकता दिएर काम गर्न ट्राफिक प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो । सडकमा प्रत्यक्ष रूपमा देखिने र नागरिकसँग दैनिक सम्पर्कमा रहने भएकाले ट्राफिक प्रहरीले आफ्नो व्यवहार र कार्यशैलीप्रति विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
उहाँकाअनुसार चालु आर्थिक वर्ष शुरु भएयता मात्रै २० देखि २५ जना प्रहरी कर्मचारीले जागिर गुमाइसकेका छन् । प्रहरी ऐन तथा नियमविपरीत काम गर्ने कसैले पनि उन्मुक्ति नपाउने उहाँले चेतावनी दिनुभयो ।
ट्राफिक प्रहरी कर्मचारीले नागरिकको आवागमन सहज बनाउने र आफ्नो कारणले कुनै पनि नागरिकले दुःख पाउन नहुनेमा जोड दिँदै उहाँले सडकमा खटिँदा विभिन्न परिस्थितिको सामना गर्नुपर्ने भएकाले प्रहरी कर्मचारीले स्वविवेकीय अधिकारको उचित प्रयोग गर्नुपर्ने बताउनु भयो ।
अस्पताल जान हतारिएका घाइते बोकेका नागरिक र मादक पदार्थ सेवन गरी सवारी चलाउने व्यक्तिलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने उल्लेख गर्दै उहाँले परिस्थितिअनुसार व्यवहार गर्नुपर्ने बताउनु भयो । तर मादक पदार्थ सेवन गरी होहल्ला गर्ने वा कानून उल्लङ्घन गर्ने व्यक्तिलाई भने कानूनअनुसार कारबाही गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।
काफ्लेले भन्नुभयो,‘हामीलाई आर्थिक अनियमितताको आरोप लाग्नुजति दुःखद् कुरा अरू केही हुँदैन । कुनै पनि ट्राफिक प्रहरी कर्मचारी आर्थिक अनियमिततामा मुछिने काम गर्नुहुँदैन । राज्यले दिएको तलव तथा सेवा सुविधामै सन्तुष्ट हुनुपर्छ । त्यसमा चित्त बुझ्दैन भने जागिर छोडेर अन्य क्षेत्रमा जाने विकल्प हुन्छ । तर जागिर खाइसकेपछि सरकारले दिएको नीति तथा निर्देशनभन्दा बाहिर गएर कुनै पनि ट्राफिक प्रहरी कर्मचारीले आर्थिक अनियमितता गर्नुहुँदैन । यो विषयमा सबैले ध्यान दिनुपर्छ । चालु आर्थिक वर्ष सुरु भएयता पनि २०–२५ जना प्रहरी कर्मचारीको जागिर गइसकेको छ । त्यसैले आर्थिक अनुशासनको विषयमा विशेष सतर्क रहनुहोला । त्यसैगरी, प्रहरी ऐन तथा नियमविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन । प्रहरी ऐन तथा नियमको बर्खिलाफमा जानुभयो भने कसैलाई पनि छुट हुँदैन । त्यसैले यस विषयमा विशेष ध्यान दिनुहोला । तपाईंहरूको व्यक्तिगत स्वार्थले प्रहरी संगठन चल्दैन । त्यसमा पनि ट्राफिक प्रहरी सबैले देख्ने र प्रत्यक्ष रूपमा सडकमा खटिएर काम गर्ने संगठन हो । त्यसैले व्यक्तिगत स्वार्थभन्दा सार्वजनिक हितलाई प्राथमिकता दिनुपर्छ । नागरिकको आवागमन सहज बनाउनुपर्छ । तपाईंहरूका कारण कुनै पनि नागरिकले दुःख पाउनु हुँदैन । यसका लागि प्रहरीले स्वविवेकीय अधिकार प्रयोग गर्न पाउँछ । तपाईंहरूले सडकमा विभिन्न अवस्था देख्नुभएको हुन्छ । कोही व्यक्ति अस्पताल जान हतारमा आएको हुन सक्छ, कोही मादक पदार्थ सेवन गरेर आएको हुन सक्छ । मादक पदार्थ सेवन गरेर हेल्मेट नलगाई तीन जना सवार भएको अवस्थामा के कारबाही गर्ने वा पछाडि घाइते राखेर तीन जना सवार भई अस्पताल जाँदै गरेको अवस्थामा कस्तो व्यवहार गर्ने भन्ने कुरा परिस्थितिअनुसार तपाईंहरूको स्वविवेकमा भर पर्छ । तर स्वविवेकीय अधिकार प्रयोग गर्दैमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्दै आएको व्यक्तिलाई छोड्नुपर्छ भन्ने होइन । त्यस्तो अवस्थामा कानूनअनुसार कारबाही गर्नैपर्छ । मुख्य कुरा, तपाईंहरूले गर्ने व्यवहार मर्यादित, जिम्मेवार र परिस्थितिअनुकूल हुनुपर्छ ।’
प्रहरी कर्मचारीको व्यवहार मर्यादित, जिम्मेवार र परिस्थितिअनुकूल हुनुपर्नेमा जोड दिँदै काफ्लेले व्यक्तिगत स्वार्थभन्दा नागरिकको हितलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।




