काठमाडौं ।
वरिष्ठ हास्यव्यङ्ग्य तथा चरित्र अभिनेता मदनकृष्ण श्रेष्ठले समाज रूपान्तरण र जनचेतना अभिवृद्धिमा दृश्य माध्यम (चलचित्र तथा टेलिचलचित्र) अत्यन्त शक्तिशाली औजार भएको बताउनुभएको छ । काठमाडौं महानगरपालिकाको संयोजनमा आयोजित ‘काठमाडौं फिल्म फेस्टिभल’ लाई सम्बोधन गर्दै उहाँले छोटो समयमै आम नागरिकसम्म सन्देश पु¥याउन टेलिचलचित्रले महत्वपूर्ण भुमिका खेलेको ऐतिहासिक अनुभव स्मरण गर्नुभएको हो । राजधानीमा आयोजित काठमाडौं फिल्म फेस्टिभलमा भारतीय वरिष्ठ अभिनेत्री शबाना आजमी, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल तथा विभिन्न देशका कुटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा अभिनेता श्रेष्ठले सम्बोधन गर्नुभएको हो ।
महानगरपालिकाले चलचित्र क्षेत्र र कलाकारहरूलाई प्रत्यक्ष जोडेर यस्तो महोत्सव आयोजना गर्नु सकारात्मक र नौलो अभ्यास भएको उहाँको भनाइ छ । अभिनेता श्रेष्ठले आफ्नो अभिनय यात्राको स्मरण गर्दै लामो समयसम्म व्यावसायिक फिचर फिल्मभन्दा सन्देशमूलक टेलिचलचित्र निर्माणमा केन्द्रित हुनुको कारण खुलाउनु भयो । महोत्सवको मञ्चबाट खुशी साट्दै उहाँले आफूले समेत अभिनय गरेको र डा. कपिल रिजालले निर्देशन गर्नुभएको नेपाली चलचित्र ‘गौँथली’ ले फ्रान्सको ‘कान्स वल्र्ड फिल्म फेस्टिभल’ मा अवार्ड प्राप्त गरेको जानकारी दिनुभयो ।
निर्देशक रिजालले फ्रान्सबाट फोन गरेर उक्त अन्तर्राष्ट्रिय सफलताको खबर सुनाएको उल्लेख गर्दै उहाँले नेपाली चलचित्रले विश्व मञ्चमा स्थान बनाउँदै गएकोमा गौरव व्यक्त गर्नुभयो । हाल पार्किन्सन्स रोगसँग जुधिरहनुभएका ७३ वर्षीय अभिनेता श्रेष्ठले शारीरिक अस्वस्थता र हिँडडुल गर्न कठिनाइ भएपनि कला क्षेत्रप्रतिको आत्मीयताका कारण कार्यक्रममा उपस्थित भएको बताउनु भयो । सोही अवसरमा उहाँले करिब चार दशकअघि काठमाडौंको विशाल बजारमा आयोजित एक समारोहमा भारतीय अभिनेत्री शबाना आजमीको हातबाट उत्कृष्ट हास्यकलाकारको पुरस्कार ग्रहण गरेको क्षण भावुक बन्दै स्मरण गर्नुभएको थियो ।




