टर्कीको ऐतिहासिक टोपकापी दरबारमा चिनियाँ पोर्सिलेनका ३ हजार ५ सय सामग्री प्रदर्शनमा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ९ २०८३, सोमबार

टर्कीको ऐतिहासिक टोपकापी दरबारमा चिनियाँ पोर्सिलेनका ३ हजार ५ सय सामग्री प्रदर्शनमा

टर्कीले इस्तानबुलस्थित ऐतिहासिक टोपकापी दरबार परिसरमा चिनियाँ पोर्सिलेन (चिनियाँ माटाका कलात्मक भाँडा) को विशाल सङ्ग्रह प्रदर्शन गर्ने नयाँ सङ्ग्रहालय क्षेत्र उद्घाटन गरेको छ । शनिवार उद्घाटन गरिएको उक्त सङ्ग्रहालयमा चीन र टर्कीबीच शताब्दीयौँदेखि रहँदै आएको सांस्कृतिक आदानप्रदान झल्काउने हजारौँ कलात्मक सामग्री प्रदर्शनमा राखिएका छन् । उद्घाटन समारोहमा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले देशको ऐतिहासिक, सांस्कृतिक, वास्तुकला तथा कलासम्बन्धी विशिष्ट सम्पदाको महत्व उल्लेख गर्दै ती सामग्रीले शताब्दीयौँदेखि विकसित सभ्यताको बुझाइलाई प्रतिबिम्बित गर्ने बताउनु भयो ।
राष्ट्रिय दरबारका अध्यक्ष यासिन यिल्दिजकाअनुसार ऐतिहासिक टोपकापी दरबारको पूर्ववर्ती टक्सार भवनलाई पुनःस्थापना गरी सङ्ग्रहालयमा रूपान्तरण गरिएको हो । आफ्नै सडक र चोकसहित ऐतिहासिक बस्तीको स्वरूपमा पुनर्निर्माण गरिएको उक्त परिसरका १९ वटा कक्षमा कुल पाँच हजार ३ सय सामग्री प्रदर्शनमा राखिएका छन् । तीमध्ये तीन हजार ५ सय वटा चिनियाँ पोर्सिलेनका सामग्री हुन् । यिल्दिजले टोपकापी दरबारमा विश्वकै महत्वपूर्ण चिनियाँ सिरेमिक सङ्ग्रहमध्ये एक रहेको उल्लेख गर्दै लामो समयसम्म ती सामग्री सर्वसाधारणका लागि प्रदर्शनमा नराखिएकाले तिनलाई हेर्ने जनअपेक्षा बढेको बताउनु भयो ।
सङ्ग्रहालय उद्घाटनले प्राज्ञिक तथा पुरातात्त्विक क्षेत्रका अनुसन्धानकर्ताको समेत ध्यान आकर्षित गरेको छ । टर्कीको चानाक्काले ओन्सेकिज मार्ट विश्वविद्यालयको पुरातत्त्व विभागका अनुसन्धानकर्ता तुरान ताकाओग्लुले यो विश्वकै महत्वपूर्ण पोर्सिलेन सङ्ग्रहमध्ये एक भएको बताउनु भयो । उहाँकाअनुसार यहाँ चिनियाँ पोर्सिलेनका दुर्लभ नमुना अवलोकन गर्ने अवसर प्राप्त हुनेछ ।
तेह्रौँ शताब्दीदेखि नै चीनमा निर्मित पोर्सिलेन, विशेषगरी जिङ्देजेन क्षेत्रमा उत्पादित सामग्री, प्राचीन रेशम मार्ग हुँदै ओटोमन दरबारसम्म पुग्ने गरेका थिए । ओटोमन सुल्तानहरूले यी कलात्मक सामग्रीलाई प्रतिष्ठाको प्रतीकका रूपमा लिने गरेका थिए । तिनै सामग्रीबाट प्रभावित भएर परम्परागत ओटोमन सिरेमिक कलाको विकासमा समेत योगदान पुगेको बताइएको छ ।
इस्तानबुलस्थित जिङ्देजेन पोर्सिलेनको आधिकारिक फ्ल्यागसिप स्टोरका महाप्रवन्धक के गुओसिङले सङ्ग्रहालयमा चिनियाँ पोर्सिलेनका तीन हजार ५ सय सामग्री एकै ठाउँमा प्रदर्शन गरिनु सांस्कृतिक आदानप्रदानका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनु भयो ।
उहाँकाअनुसार यसअघि ती सामग्रीमध्ये धेरैजसो भण्डारण कक्षमा राखिएका थिए र सर्वसाधारणको पहुँच सिमित थियो । नयाँ सङ्ग्रहालयले धेरै मानिसलाई चीन र टर्कीबीचको ऐतिहासिक सम्बन्ध नजिकबाट बुझ्ने अवसर दिने उहाँले बताउनु भयो । गुओसिङले विशेषगरी युआन र मिङ राजवंशका पालाका नीलो र सेतो रङका पोर्सिलेन सामग्रीको शैक्षिक महत्त्व औँल्याउनु भयो । जिङ्देजेनमा निर्मित युआनकालीन केही सामग्री इस्लामिक विश्वका लागि विशेष रूपमा तयार गरिएका थिए । तिनमा ठूला आकार र बाक्ला सजावटी आकृति प्रयोग गरिएका हुन्थे, जुन चीनभित्रै पनि कम देखिने गरेको उहाँले बताउनु भयो ।
यस्ता सामग्रीले चिनियाँ पोर्सिलेनको निर्यात इतिहास र विभिन्न सभ्यताका कलात्मक शैलीबीच भएको सम्मिश्रण अध्ययन गर्न महत्त्वपूर्ण भौतिक प्रमाण उपलब्ध गराउने उहाँको भनाइ छ । सङ्ग्रहालयले चिनियाँ तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताबीच संयुक्त अध्ययनलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । पोर्सिलेन सङ्ग्रहालयबाहेक उक्त ऐतिहासिक परिसरमा सुलेखन कला, हतियार, नक्सा तथा टक्सारको इतिहाससम्बन्धी अन्य चारवटा सङ्ग्रहालयसमेत रहेका छन् ।

Leave a Reply