ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै | ईमाउण्टेन समाचार

Our Network

असोज २५ २०८३, सोमबार

ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै

चिनियाँ कम्युनिस्ट क्रान्तिको इतिहासमा महत्वपूर्ण मोड मानिएको दक्षिण–पश्चिमी प्रान्त गुइझोउस्थित जुनयी शहरले आफ्नो क्रान्तिकारी विरासतलाई आत्मसात गर्दै तिब्र गतिको आधुनिकीकरण र आर्थिक समृद्धिको मार्ग पछ्याइरहेको छ । सन् १९३५ मा भएको ऐतिहासिक ‘जुनयी बैठक’का कारण ‘ऐतिहासिक मोडको शहर’ भनेर चिनिने यस क्षेत्रले सन् २०२६ मा लङ मार्च विजयको ९० औँ वार्षिकोत्सव मनाउने तयारी गरिरहँदा इतिहास संरक्षण र जनजीविका सुधारका आधुनिक प्रयासहरूलाई सँगसँगै अघि बढाएको छ । चीनको आधुनिक राजनीतिक इतिहासमा जुनयी बैठकलाई लङ मार्च र चिनियाँ क्रान्तिको दिशा बदल्ने निर्णायक मोडका रूपमा लिइन्छ । उक्त ऐतिहासिक घटनाको करिव नौ दशक पुग्न लाग्दा यो शहरले आफ्नो पुरानो विरासतलाई आधुनिक प्रविधिसँग जोडेको छ । संग्रहालय तथा रंगमञ्चहरूमा भर्चुअल रियालिटी (भीआर) जस्ता डिजिटल प्रविधिको प्रयोग गरी क्रान्तिकारी इतिहासलाई जीवन्त र अन्तरक्रियात्मक बनाइएको छ, जसले ‘रातो पर्यटन’ (रेड टुरिज्म) मार्फत आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गरिरहेको छ । जुनयी बैठक स्मृति संग्रहालयका आगन्तुक सेवा विभागका सु हेङकाअनुसार संग्रहालयले जनचेतना र प्रचारप्रसार अभिवृद्धि गर्न भीआर प्रविधिमा आधारित प्रदर्शनी कक्ष विकास गरेको छ । यस प्रविधिमार्फत नयाँ पुस्ता तथा आगन्तुकहरूले इतिहासलाई प्रत्यक्ष अनुभूति गर्नसक्ने वातावरण बनाइएको छ । इतिहास संरक्षणका अतिरिक्त जुनयीको पछिल्लो परिचय आर्थिक आत्मनिर्भरतासँग पनि जोडिएको छ । विशेषगरी चिया उत्पादन र वाद्यवादन उद्योगले स्थानीय बासिन्दाको जीवनस्तर उकास्न ठूलो भुमिका खेलेका छन् । जुनयीको मेइतान काउन्टीमा मात्रै हाल ४० हजार हेक्टर (६ लाख मु) पर्यावरणमैत्री चिया बगान फैलिएको छ, जहाँबाट करिव ३ लाख २० हजार किसान प्रत्यक्ष लाभान्वित भइरहेका छन् । मेइतान काउन्टी चिया उद्योग विकास केन्द्रका निर्देशक याङ दोङकाअनुसार यस क्षेत्रमा पाँचवटा राष्ट्रिय स्तरका प्रमुख उद्योगसहित करिव ४०० वटा साना तथा ठूला चिया प्रशोधन केन्द्रहरू सञ्चालनमा छन् । हरित चिया पत्ती स्थानीय किसानको आम्दानी बढाउने र जीवनस्तर सुधार गर्ने मुख्य आधार बनेको उनले बताएका छन् । त्यसैगरी, उत्पादनमूलक उद्योगको विस्तारले रोजगारीका लागि अन्य औद्योगिक सहरहरूमा जानुपर्ने बाध्यता घटाएको छ । जुनयी सेन्कु म्युजिकल इन्स्ट्रुमेन्ट जस्ता वाद्यवादन उत्पादन कम्पनीहरूले स्थानीय स्तरमै रोजगारी सिर्जना गरेका छन् । पहिले झेजियाङ प्रान्तमा काम गरेर फर्केका स्थानीय कामदार ये हुआनकाअनुसार घर नजिकै रोजगारी पाउँदा परिवारको रेखदेख गर्न सहज भएको छ र आर्थिक भविष्यप्रति भरोसा बढेको छ । ऐतिहासिक पृष्ठभूमि, डिजिटल पर्यटन र ग्रामीण औद्योगिकीकरणको यस समन्वयले जुनयीलाई आधुनिक चीनको उदाउँदो आर्थिक केन्द्रका रूपमा रूपान्तरण गरिरहेको छ ।

Leave a Reply