एभरेष्ट मल्टिस्किल्सले ३० वटा विधामा प्राविधिक तालिम सञ्चालन गर्ने | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

एभरेष्ट मल्टिस्किल्सले ३० वटा विधामा प्राविधिक तालिम सञ्चालन गर्ने

काठमाडौँ ।

एभरेष्ट मल्टिस्किल्स प्रालिले भक्तपुरको दधिकोटमा अन्तर्राष्ट्रियस्तरको प्राविधिक तथा सीपमूलक प्रशिक्षण केन्द्र संचालनमा ल्याएको छ ।
तालिम केन्द्रको आईतवार एक कार्यक्रमका बीच युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले शुभारम्भ गर्नुभएको हो । तालिम केन्द्रले स्वदेश तथा वैदेशिक श्रम बजारका लागि दक्ष, अनुशासित र कार्यस्थलमा प्रत्यक्ष खटिन सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ । कम्पनीका निर्देशक अनन्तराम खतिवडाले प्लम्बिङ, स्काफोल्डिङ, इन्सुलेसन, पेन्टिङ र केयरगिभर लगायतका विभिन्न विधामा तालिम सञ्चालन गर्ने जानकारी दिनुभयो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट ३० वटा ट्रेडमा सम्बन्धन प्राप्त गरेको उहाँले बताउनु भयो । सम्बन्धन प्राप्त गरेका सबै विधाका तालिम सञ्चालन गर्ने उहाँको भनाई छ । उहाँकाअनुसार तालिम केन्द्रमा १ सय ५० शैय्याको आवासीय सुविधा पनि उपलब्ध छ । प्रशिक्षार्थीलाई प्राविधिक सीपसँगै अन्तर्राष्ट्रिय श्रम बजारमा आवश्यक कार्यअनुशासन, व्यावसायिक आचरण र सहकार्यको संस्कृतिसमेत सिकाइने उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले भक्तपुरको दधिकोटमा ५६ हजार ७६० वर्ग फिट क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको आवासीय क्याम्पस खडा गरेका छौँ । हामीले ११ हजार ५२८ वर्ग फिट फिटको विशाल इन्डोर स्काफोल्डिङ ट्रेनिङको लागि हल संरचना गरेका छौँ । साथै सिटिइभिटीका विभिन्न ३० वटा ट्रेडहरूमा सम्बन्धन लिएर हामीले प्लम्बिङ, स्काफोल्डिङ, इन्सुलेसन, पेन्टिङ, केयरगिभर जस्ता विभिन्न कार्यक्रमहरूलाई एकैपटक समानान्तर रूपमा सञ्चालन गर्न सक्ने क्षमता हामीले तयार गरेका छौँ । हामी कुनै मेनपावर व्यवसायी होइनौँ । हामी देश र विश्व बजारका लागि साइट–रेडी ग्लोबल वर्कफोर्स उत्पादन गर्ने एउटा अत्याधुनिक प्राविधिक प्रशिक्षण संस्था हौँ । हाम्रो १५० बेडको आवासीय आवासीय सुविधा भएको क्याम्पस हो, यहाँ युवाहरूले केवल सिपहरू मात्र सिक्नुहुन्न, अन्तर्राष्ट्रियस्तरको कडा कार्य अनुशासन र व्यावसायिक आचरणमा सिक्नुहुनेछ ।’
उहाँले तालिम केन्द्रमा सहकार्य गर्न सरकार, नियामक निकाय तथा वैदेशिक रोजगार क्षेत्रका सरोकारवालासँग आग्रह पनि गर्नुभयो । सीप विकास र सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी सरकारी नीति तथा कार्यक्रम कार्यान्वयनमा निजी क्षेत्रका प्राविधिक प्रशिक्षण संस्थाको भुमिका महत्वपूर्ण हुने उहाँको भनाई छ । राष्ट्रिय सीप विकासका कार्यक्रम र श्रम बजारसँग सम्बन्धित योजनामा एभरेष्ट मल्टिस्किल्सलाई पनि साझेदारका रूपमा समेट्न उहाँले सरकारसँग आग्रह पनि गर्नुभयो । आगामी दिनमा सञ्चालन हुने सीपमूलक तालिम, वैदेशिक रोजगार लक्षित प्राविधिक कार्यक्रम तथा सीप प्रमाणीकरणका परियोजनामा सहकार्य गर्न कम्पनी ईच्छुक रहेको उहाँको भनाई छ । ३० वटा ट्रेडमा सम्बन्धन प्राप्त संस्थाको पूर्वाधार र तालिम सञ्चालन क्षमतालाई सरकारी सीप विकास कार्यक्रमसँग जोड्न सकेमा दक्ष जनशक्ति उत्पादन तथा अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली कामदारको प्रतिस्पर्धात्मक क्षमता बढाउन सहयोग पुग्ने उहाँले बताउनु भयो ।

Leave a Reply