काठमाडौँ ।
काठमाडौंको व्यस्त बबरमहल क्षेत्रमा पैदलयात्रुको आवागमनलाई सुरक्षित र सहज बनाउने उद्देश्यले निर्माणधीन आकाशे पुल (पेडेस्ट्रियन ब्रिज) निर्माणको अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन काठमाडौंकाअनुसार हालसम्म परियोजनाको भौतिक प्रगति ९२ प्रतिशत सम्पन्न भइसकेको छ । सडक डिभिजन काठमाडौँका प्रमुख सुवोध देवकोटाकाअनुसार २०८२ फागुन २१ गते सम्झौता भई शुरु भएको उक्त पुल निर्माण कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न गर्ने तयारी गरिएको छ । निर्माण कम्पनी हाइटेक इन्जिनियरिङ वर्कस प्रालि, हेटौँडाले जिम्मा पाएको यस आयोजनाको कुल लागत २ करोड ५२ लाख ४५ हजार ९ सय ५३ रुपैयाँ रहेको छ ।
पुलको मुख्य संरचनाको काम सकिएसँगै हाल रेलिङ राख्ने र भ¥याङ जोड्ने कार्य अन्तिम चरणमा पुगेको छ । तोकिएको म्यादअनुसार पुल निर्माण सम्पन्न गर्ने अन्तिम म्याद २०८३ असोज ३० गतेसम्म भए तापनि सडक विभागले असोज २८ गतेबाटै उक्त पुल पैदलयात्रुको प्रयोगका लागि सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । बबरमहल क्षेत्रमा सवारी चाप र पैदलयात्रुको बाक्लो उपस्थितिलाई मध्यनजर गर्दै यो पुल निर्माण अघि बढाइएको हो । निर्माण कार्य सम्पन्न भएपश्चात् यस सडक खण्डमा पैदलयात्रुले सुरक्षित रूपमा सडक पार गर्न सक्नेछन्, जसले दुर्घटना न्युनिकरणमा पनि मद्दत पुग्ने विश्वास गरिएको छ ।





