कविना बलामी,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले विद्यार्थी तथा अनुसन्धानकर्तालाई अध्ययन–अनुसन्धानमा सहजता प्रदान गर्ने उद्देश्यले नयाँ भवनमा ‘रिसर्च कमन’ सञ्चालनमा ल्याएको छ । परम्परागत पुस्तकालय सेवासँगै डिजिटल युगको आवश्यकता पूरा गर्न ई–लाइब्रेरी तथा डिजिटल प्रणाली विस्तार गर्ने तयारीसमेत अघि बढाइएर समयसापेक्ष हुदै गएको छ ।
समयसँगै अध्ययन गर्ने शैलीमा परिवर्तन आएपछि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले पनि सेवा र संरचनालाई प्रविधिमैत्री बनाउँदै लगेको छ । नयाँ भवनमा स्थापना गरिएको ‘रिसर्च कमन’ले विशेषगरी अनुसन्धानकर्तालाई अध्ययनका लागि सहज वातावरण उपलब्ध गराउने अपेक्षा गरिएको छ। अनुसन्धानकर्ताका लागि आवश्यक वातावरण र सुविधा उपलब्ध गराउने उद्देश्यले यसको व्यवस्था गरिएको हो। अनुसन्धानका क्रममा लामो समयसम्म अध्ययन गर्नुपर्ने, विभिन्न पुस्तक तथा अनुसन्धान सामग्री हेर्नुपर्ने र आफ्ना सामग्री तयार गर्नुपर्ने भएकाले अनुसन्धानकर्तालाई शान्त तथा व्यवस्थित वातावरण आवश्यक हुन्छ। अनुसन्धानको प्रकृति सामान्य पढाइभन्दा फरक हुन्छ। अनुसन्धानकर्ताले एउटै विषयमा विभिन्न स्रोतको अध्ययन गर्नुपर्ने, तथ्य तथा तथ्यांक खोज्नुपर्ने र त्यसलाई विश्लेषण गरेर अनुसन्धान तयार गर्नुपर्ने हुन्छ ।
अनुसन्धान तथा अध्ययनका लागि आउने व्यक्तिको संख्या बढ्दै गएपछि उनीहरूलाई आवश्यक सुविधा उपलब्ध गराउने उद्देश्यले रिसर्च कमनको व्यवस्था गरिएको पुस्तकालयका जिम्मेवार अधिकारीले बताएका छन्। केन्द्रीय पुस्तकालयले भौतिक पुस्तकसँगै डिजिटल सामग्रीको प्रयोगलाई पनि प्राथमिकता दिन थालेको छ। अहिलेको समय डिजिटल युग भएकाले अधिकांश विद्यार्थी तथा अनुसन्धानकर्ताले मोबाइल, ल्यापटप तथा कम्प्युटरमार्फत अध्ययन सामग्री खोज्ने र प्रयोग गर्ने गरेका छन्। यही बदलिँदो अभ्यासलाई ध्यानमा राख्दै पुस्तकालयले ई–लाइब्रेरीको विस्तार तथा डिजिटल मेकानिजम विकास गर्ने प्रयास गरिरहेको छ।
पुस्तकालयमा रहेका महत्वपूर्ण अध्ययन सामग्री तथा अनुसन्धान स्रोतलाई डिजिटल माध्यमबाट समेत उपलब्ध गराउन सके विद्यार्थी तथा अनुसन्धानकर्ताले जुनसुकै स्थानबाट आवश्यक सामग्रीमा पहुँच पाउन सक्नेछन्। यसले अध्ययन तथा अनुसन्धानलाई थप सहज, छिटो र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ।पुस्तकालय क्षेत्रका विषयमा छलफल तथा नयाँ व्यवस्था लागू गर्दा विज्ञ तथा सरोकारवालाको सुझाव आवश्यक पर्ने भए पनि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय नेपालको पुस्तकालय क्षेत्रमै महत्वपूर्ण सन्दर्भका रूपमा रहने गरेको सम्बन्धित अधिकारी बताउँछन्। पुस्तकालयसँग सम्बन्धित नीति, सेवा तथा प्रविधिको विकासमा पनि यसको भूमिका महत्वपूर्ण रहेको छ।
डिजिटल प्रणाली विस्तार गर्ने क्रममा पुस्तकालयले विभिन्न चुनौतीसमेत सामना गर्नुपर्ने हुन्छ। डिजिटल सामग्री व्यवस्थापन, प्रविधिको पहुँच, दक्ष जनशक्ति, सामग्रीको सुरक्षा तथा पुराना पुस्तक र दस्तावेजको संरक्षण प्रमुख चुनौती हुन्। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले रिसर्च कमन, ई–लाइब्रेरी तथा डिजिटल प्रणाली विस्तारमार्फत यही परिवर्तनलाई आत्मसात् गर्ने प्रयास गरिरहेको छ। भौतिक पुस्तक तथा ऐतिहासिक दस्तावेजको संरक्षण गर्दै डिजिटल पहुँचलाई समेत विस्तार गर्न सके केन्द्रीय पुस्तकालय नेपालको अध्ययन, अनुसन्धान र ज्ञान संरक्षणको अझ प्रभावकारी केन्द्र बन्न सक्नेछ।




