काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. धनञ्जय रेग्मीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आर्थिक अवस्था सुधार गर्न र वायुसेवाको विश्वसनीयता बढाउन तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक रहेको बताउनुभएको छ । सोमवार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उहाँले निगमको व्यवस्थापकीय सुधार, डिजिटल सेल्स र रुट व्यवस्थापनमा तत्काल पहल गर्नुपर्नेमा जोड दिनुभएको हो । सांसद डा. रेग्मीले निगमले एयरफेयर (हवाई भाडा) नियन्त्रण गर्न थप सक्रिय भुमिका खेल्नुपर्ने बताउनु भयो । निगमको घाटा न्युनिकरण गर्न उहाँले वित्तीय अडिट, रुट प्रोफिट्याबिलिटी (कुन रुटमा कति नाफा छ भन्ने विश्लेषण) र कार्गो तथा ग्राउण्ड ह्यान्डलिङको छुट्टै लेखा प्रणाली लागू गर्न सुझाव दिनुभयो । जहाजको ओभरहल (मर्मत) कार्य समयमै हुन नसक्दा उडान तालिका प्रभावित हुने गरेको विषयप्रति ध्यानाकर्षण गराउँदै उहाँले व्यवस्थापकीय कमजोरी औंल्याउनु भयो । थप विमान लिजमा ल्याउने सम्बन्धमा डा. रेग्मीले ‘केपटाउन कन्भेन्सन’मा नेपालले तत्काल हस्ताक्षर गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले तीन वर्षको समयसीमा तोकेर व्यवस्थापन सुधार गरे मात्र निगमलाई व्यावसायिक रूपमा सफल बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो । समितिको बैठकमा उहाँले मन्त्रालय र निगम नेतृत्वलाई स्पष्ट टार्गेटसहित काम गर्न र आवश्यक परे संसदको समितिले समेत सहजीकरण गर्ने प्रतिवद्धता जनाउनु भयो । निगमको डिजिटल रूपान्तरण र मर्मतसम्भार प्रणालीमा सुधार ल्याउन सकेमात्र निगमले प्रतिष्पर्धामा टिक्न सक्ने उहाँको भनाइ छ ।




