दक्षिण कोरियामा ७८ वर्ष पुरानो अभियोजन प्रणाली खारेज, नयाँ संरचनासहित दुई निकाय गठन | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८३, शनिबार

दक्षिण कोरियामा ७८ वर्ष पुरानो अभियोजन प्रणाली खारेज, नयाँ संरचनासहित दुई निकाय गठन

दक्षिण कोरियाले ७८ वर्षदेखि कायम रहेको आफ्नो सरकारी अभियोजन सेवालाई औपचारिक रूपमा खारेज गर्दै शुक्रवारदेखि न्याय प्रणालीमा व्यापक पुनर्संरचना गरेको छ । सन् १९४८ देखि अस्तित्वमा रहेको यो पुरानो संस्थालाई विघटन गरी अनुसन्धान र अभियोजनका लागि छुट्टाछुट्टै दुईवटा निकायहरू स्थापना गरिएको छ । नयाँ कानूनी व्यवस्थाअनुसार अब सरकारी अभियोजन कार्यालय न्याय मन्त्रालय मातहत रहनेछ र यसले विशेष गरी अभियोग पत्र दर्ता गर्ने तथा सरकारी अभियोजनको कार्यलाई मात्र निरन्तरता दिनेछ । यसका साथै, गम्भीर अपराध अनुसन्धान निकाय नाम दिइएको अर्को नयाँ संस्था गृह मन्त्रालय मातहत रहने गरी स्थापना गरिएको छ । उक्त निकायले सात प्रमुख अपराधका कोटीहरू र जोखिममा रहेका समूहहरू लक्षित अपराधहरूको अनुसन्धान गर्ने जिम्मा पाएको छ । यसअघि अभियोजन सेवाबाट हुँदै आएका अधिकांश सामान्य आपराधिक अनुसन्धानहरूको जिम्मेवारी अब पूर्ण रूपमा प्रहरीलाई सुम्पिएको छ ।

यद्यपि संस्थागत रूपमा अभियोजन सेवा विघटन गरिए पनि ‘अभियोजक’ र ‘महान्यायाधिवक्ता’ को पद तथा उपाधि भने यथावत राखिएको छ । यो ऐतिहासिक फेरबदलका पछाडि लामो समयदेखि चल्दै आएको शक्ति केन्द्रिकरणको आलोचना प्रमुख कारण मानिएको छ । दक्षिण कोरियामा सरकार परिवर्तन हुँदा अभियोजन सेवाले राजनीतिक प्रतिशोध साँध्न ‘लक्षित अनुसन्धान’ गरेको आरोप लाग्ने गरेको थियो । युनहाप समाचार संस्थाकाअनुसार अभियोजनको शक्तिमा रहेको अत्यधिक केन्द्रीकरणले अनुसन्धानमा हुने दुरुपयोग र राजनीतिक पूर्वाग्रहका घटनाहरूलाई बढावा दिएको भन्दै तीव्र आलोचना हुने गरेको थियो । सरकारको यो नयाँ कदमले न्यायिक प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउने विश्वास लिइएको छ ।

Leave a Reply