काठमाडौँ ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले घर तथा कार्यालयमा प्रयोग नभए पनि विद्युतीय उपकरण स्ट्यान्डबाइमा राख्दा वा चार्जर प्लगमै जोडेर छोड्दा कुल विद्युत खपतको ५ देखि २० प्रतिशतसम्म अनावश्यक रूपमा खर्च हुनसक्ने अध्ययनले देखाएको बताउनुभएको छ । मन्त्री श्रेष्ठले प्रयोगमा नरहेका विद्युतीय उपकरणबाट निरन्तर हुने यस्तो खपतलाई ‘एनर्जी भ्याम्पायर’ वा ‘फ्यान्टम इनर्जी’ भन्ने गरिएको उल्लेख गर्दै विद्युतको मितव्ययी प्रयोग गर्न आग्रह गर्नुभएको हो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले नेपालमा विद्युत उपभोक्ताको संख्या करिब ६० देखि ६५ लाख रहेको उल्लेख गर्दै प्रत्येक घरमा हुने सानो परिमाणको अनावश्यक विद्युत् खपतले समग्र विद्युत प्रणालीमा ठूलो प्रभाव पार्न सक्ने बताउनु भयो । विद्युतको अनावश्यक खपत घटाउँदा ट्रान्सफर्मरमा पर्ने अतिरिक्त भार कम गर्न र आपूर्ति व्यवस्थापन सहज बनाउन सहयोग पुग्ने बताउँदै उहाँले विद्युत आपूर्तिमा समस्या हुँदा उपभोक्ताले नै त्यसको असर भोग्नुपर्ने भएकाले जनचेतनामार्फत विद्युतको सदुपयोगमा जोड दिनुपर्ने बताउनु भयो । मन्त्री श्रेष्ठले विद्युत्को मितव्ययी प्रयोग आम नागरिकमा मात्र सीमित नराखी सरकारी कार्यालयमा समेत लागू गर्नुपर्ने बताउनु भयो ।
उहाँकाअनुसार राति कार्यालय बन्द भएपछि अनावश्यक बत्ती तथा विद्युतीय उपकरण बन्द गर्ने विषयमा स्थानीय, प्रदेश र संघीय सरकारका प्रशासनिक निकायसँग समन्वय भइरहेको छ ।पछिल्ला बाढीका कारण ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको र विद्युत्को मागसमेत बढिरहेको अवस्थामा अनावश्यक खपत नियन्त्रण गर्नुपर्ने बताउँदै मन्त्री श्रेष्ठले दुईवटा बाढीले ऊर्जा क्षेत्रमा पारेको प्रभावबाट पुनःस्थापनाको काम जारी रहेकाले आगामी जाडोयाममा विद्युतको मितव्ययी प्रयोगमा थप संवेदनशील हुन उहाँले आम नागरिक तथा सरकारी निकायलाई आग्रह गर्नुभएको छ ।




