काठमाडौँ ।
प्रतिनिधि सभाको बुधवार बसेको बैठकले कानूनी र न्यायिक क्षेत्रसँग सम्बन्धित तीनवटा विधेयकहरू दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रश्तुत गर्नुभएको उक्त प्रश्तावहरूलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो । बुधवारको संसद् बैठकमा मन्त्री सोविता गौतमले ‘मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक २०८३’, ‘नेपाल कानून आयोग पहिलो संशोधन विधेयक २०८३’ र ‘निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश गर्नुभएको थियो । सभामुखले निर्णयार्थ प्रश्तुत गर्नुभएको उक्त तीनवटै प्रश्तावको पक्षमा सदनका सदस्यहरूले ‘हुन्छ’ भन्दै समर्थन जनाएका थिए भने विपक्षमा कुनै आवाज नआएपछि सभामुखले ती विधेयकहरू सर्वसम्मतिले समितिमा पठाइएको घोषणा गर्नुभएको हो । यी विधेयकहरू अब सम्बन्धित विषयगत समितिमा विस्तृत रूपमा दफावार छलफलका लागि जानेछन् । समितिले छलफल पश्चात तयार पारेको प्रतिवेदन पुनः सदनमा पेश गर्नेछ, जहाँ थप प्रक्रियाहरू अगाडि बढ्नेछन् ।




