काठमाडौँ ।
नेपालको धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता उत्साहजनक रूपमा विस्तार भएको छ ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले अर्थ समितिको बैठकमा पेश गर्नुभएको पछिल्लो तथ्यांकअनुसार देशभर डिम्याट खाता खोल्नेको संख्या ८० लाख ९५ हजार पुगेको छो । बुधवार बसेको संघीय संसदको अर्थ समितिको बैठकमा धितोपत्र बोर्डका अध्यक्ष भट्टले दिनुभएको तथ्यांकअनुसार हालसम्म ५१ लाख २२ हजार बढी ‘मेरो सेयर’ खाता सक्रिय रहेका छन् भने गत आर्थिक वर्षको असार मसान्तसम्ममा कारोबार खाता खोल्ने लगानीकर्ताको संख्या ३५ लाख ६२ हजार नाघेको छ ।
बजारमा प्राथमिक शेयरको प्रभुत्व कायमै रहेको छ । संगठित संस्थाहरूले संकलन गरेको पुँजीमध्ये साधारण सेयरको हिस्सा ४६.२६ प्रतिशत, संस्थागत ऋणपत्रको हिस्सा ३१.०३ प्रतिशत र सामूहिक लगानी कोषको हिस्सा १४.८१ प्रतिशत रहेको छ । त्यसैगरी विशिष्टीकृत लगानी कोषको ५.१७ र अग्राधिकार सेयरको हिस्सा २.१७ प्रतिशत छ। बोर्डका अनुसार हालसम्म २० वटा विशिष्टीकृत लगानी कोषलाई ४८ अर्ब २५ करोड बराबरको पुँजी परिचालनको स्वीकृति दिइएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सूचकांक असोज १३ गतेसम्म २६०३.७१ बिन्दुमा कायम रहेको छ भने कुल बजार पुँजीकरण ४४ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ । पुँजी बजारले राज्यको राजस्वमा पनि महत्वपूर्ण योगदान दिइरहेको छ । आर्थिक वर्ष २०८२÷८३ मा बजारबाट १५ अर्ब ६१ करोड रुपैयाँ राजश्व संकलन भएको थियो भने चालु आर्थिक वर्षको भदौ मसान्तसम्म १ अर्ब ५४ करोड राजश्व प्राप्त भएको भट्टले बताउनु भयो ।
गत आर्थिक वर्षमा ५२ वटा संस्थालाई ७९ अर्ब ७३ करोड बराबरको पुँजी परिचालन गर्न स्वीकृति दिएको बोर्डले चालु आवको असोज मसान्तसम्म चारवटा संस्थालाई ४ अर्ब ६० करोडको पुँजी परिचालनका लागि अनुमति प्रदान गरेको छ ।





