सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८३, बिहीबार

सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं सांसद विपिन आचार्यले सरकारी संयन्त्रमा व्याप्त सरुवा र बढुवाको अस्वस्थ अभ्यासप्रति चिन्ता व्यक्त गर्नुभएको छ । बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद आचार्यले नातागोता र नजिकका मानिसहरूबाटै हुने ‘स्वार्थप्रेरित’ दबाबलाई रोक्न सरकारले तत्काल स्वायत्त सरुवा बोर्ड गठन गर्नुपर्ने माग गर्नुभएको हो । सांसद आचार्यले आफू राजनीतिमा आएपछि सबैभन्दा बढी दबाब सरुवा र बढुवाका लागि झेल्नुपरेको तीतो यथार्थ रहेको बताउनु भयो । उहाँले सुशासन र पारदर्शिताको ठूला कुरा गर्नेहरू नै व्यक्तिगत स्वार्थका लागि शक्तिको केन्द्र धाउने गरेको भन्दै व्यंग्य गर्नुभयो ।

सांसद आचार्यले आफूले यस्ता आग्रहहरूलाई विधि र पद्धतिभन्दा बाहिर गएर सम्बोधन गर्न नसकिने भन्दै फर्काउने गरेको स्पष्ट पार्नुभयो । उहाँले आफ्नो पार्टीको वाचापत्रमा उल्लेख गरिएको प्रतिवद्धता स्मरण गराउँदै भन्नुभयो, ‘हाम्रो बाचापत्रको बुँदा नम्बर ८ मा स्वायत्त सरुवा बोर्ड गठन गर्ने उल्लेख छ । जसले निश्चित विधि र पूर्वानुमानका आधारमा काम गर्छ । सरकारले यो बोर्ड जतिसक्दो चाँडो गठन गर्नुपर्छ ।’सांसद आचार्यको यो अभिव्यक्तिले निजामती प्रशासन र राजनीतिक वृत्तमा लामो समयदेखि जरो गाडेर बसेको ‘भनसुन’ र ‘पहुँच’को प्रवृत्तितर्फ पुनः एकपटक गम्भीर प्रश्न खडा गरिदिएको छ

Leave a Reply