पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८३, बिहीबार

पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी

काठमाडौं ।

नेपालमा विकसित न्युन चापीय प्रणालीका कारण आगामी केही दिन भारी वर्षाको सम्भावना बढेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. धनञ्जय रेग्मीले बाढी र पहिरोको जोखिमबारे गम्भीर सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले घरमै बस्ने सूचना मात्र पर्याप्त नभई, पहिरोका पूर्वसंकेतहरू पहिचान गर्न नागरिकलाई सचेत गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सांसद रेग्मीले पहाडी क्षेत्रमा बसोवास गर्ने नागरिकहरूले आफ्नो घर वरपरको भू–धरातलप्रति विशेष निगरानी राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले पहिरो जानुअघि जमिनमा देखिने असामान्य संकेतहरू जस्तैः जमिनमा नयाँ चिरा पर्नु, जमिन धसिनु, रुख वा बिजुलीका खम्बा अस्वाभाविक रूपमा ढल्किनु, घरको जगमा चिरा देखिनु वा पहिले नभएको स्थानबाट अचानक पानी निस्कनुजस्ता लक्षणप्रति सजग रहन आग्रह गर्नुभयो । यस्ता संकेत देखिएमा जोखिमयुक्त घरमा नबसी समयमै सुरक्षित स्थानमा सर्न उहाँले सुझाव दिनुभयो ।

विगतमा रातिको समयमा पहिरोले मानिस सुतिरहेकै अवस्थामा घर पुरिँदा ठूलो मानवीय क्षति भएका घटनाहरूलाई स्मरण गर्दै उनले सरकारसँग स्पष्ट माग गर्नुभयो ।बाढीको जोखिमलाई मात्र हेर्ने प्रवृत्तिभन्दा माथि उठेर पहिरोको पूर्वसंकेतलाई प्राथमिकताका साथ प्रचार–प्रसार गर्न उनले आग्रह गर्नुभएको हो । आगामी दिनमा एफएम रेडियो, टेलिभिजन, मोबाइल एप्स, कलरिङ ब्याक टोन र सामाजिक सञ्जालमार्फत पहिरोका पूर्वसंकेतबारे सरल भाषामा व्यापक जनचेतना फैलाउन उहाँले सरकारलाई आग्रह गर्नुभयो । विपद् आएपछि उद्धारमा जुट्नुभन्दा सही सूचना समयमै जनताको घर–घरमा पु¥याएर ज्यान जोगाउनु नै प्रभावकारी विपद् व्यवस्थापन भएको उहाँको भनाइ छ ।

Leave a Reply