असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, प्रधानमन्त्रीद्वारा सतर्क रहन आग्रह | ईमाउण्टेन समाचार

Our Network

असोज ८ २०८३, शुक्रबार

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, प्रधानमन्त्रीद्वारा सतर्क रहन आग्रह

काठमाडौं । प्रधानमन्त्रीले आगामी शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै नागरिकलाई सतर्क रहन आग्रह गर्नुभएको छ।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने जानकारी दिनुभएको हो ।पूर्वानुमानअनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने सम्भावना छ। यस्तै, कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाइएको छ।

मौसम प्रणालीको प्रभावका कारण पोखरा आसपास, लुम्बिनीका पहाडी तथा तराई क्षेत्र, ताप्लेजुङलगायत कोशी प्रदेशका हिमाली भूभाग, बागमतीका पहाडी क्षेत्र, जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिम रहन सक्ने बताइएको छ।

सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा डुबानसँगै सडक र हवाई यातायातमा समेत अवरोध आउन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन प्रधानमन्त्रीले आग्रह गरेका छन्।पानी परिरहेको समयमा तथा रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र र नदी–खोलानजिक विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।त्यस्तै, ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएका व्यक्तिहरूलाई मौसममा सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न अनुरोध गर्नुभएकोछ।मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न पनि प्रधानमन्त्रीले आग्रह गरेका छन्।सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन आग्रह गर्दै प्रधानमन्त्रीले सम्पूर्ण नागरिकलाई सुरक्षित र सचेत रहन अनुरोध गर्नुभएको छ।

स्रोतः प्रधानमन्त्रीको सामाजिक सञ्जाल पोस्ट

Leave a Reply

ताजा समाचार

आजको मौसम

२ घन्टा अघि