काठमाडौँ ।
भोटकोशी बाढीका कारण क्षतिग्रस्त बनेका सडक र पुलहरूको पुनर्निर्माणलाई तिब्रता दिँदै सडक विभागले प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज जडान गर्ने प्रक्रिया शुरु गरेको जनाएको छ । सिंहदरबारमा सोमवार बसेको पूर्वाधार विकास समितिको बैठकमा सडक विभागका महानिर्देशक डा. विजय जैसीले गल्छी–बेनीघाट र विदुर खण्डका क्षतिग्रस्त संरचनाहरूको वस्तुस्थिति र भइरहेका प्रयासबारे जानकारी गराउनुभएको हो । डा. जैसीकाअनुसार गल्छी–बेनीघाट खण्डमा जम्मा भएको दुईदेखि चार मिटरसम्मको गेग्रान र पहिरो हटाएर यातायात सञ्चालनमा ल्याइसकिएको छ । त्रिशूली नदीको बहावले क्षति पु¥याएको कोलमु खोला पुलमा अस्थायी विकल्प अपनाई सवारी साधन सञ्चालन गरिएको र स्थायी समाधानका लागि ठेक्का प्रक्रियामार्फत काम शुरु भइसकेको बताउनु भयो । सो पुल १५ दिनभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।
त्यस्तै, रातमाटे क्षेत्रमा ठूलो पहिरो गएका कारण रोकिएको यातायात सुचारु गर्न सात दिनभन्दा बढी समय खर्चेर सडक विभागले भित्री भागबाट बाटो खोलेको छ । तादीखोलामा नेपाली सेना र सडक विभागको संयुक्त टोलीले गेग्रान हटाउने कार्य सम्पन्न गरिसकेको छ । महानिर्देशक जैसीले विदुर क्षेत्रमा नदीले दुईवटा पुल बगाएको स्थानमा हाल उपलब्ध ६० मिटरको बेलीब्रिज राख्ने योजना बनाएको बताउनु भयो । नदीको बहावलाई केही साँघुरो पारेर १५ देखि २० दिनभित्र बेलीब्रिज जडान गरी यातायात सुचारु गर्ने तयारी भइरहेको छ । यदि बेलीब्रिजबाट समाधान ननिस्किए स्थायी पुल निर्माणका लागि तत्काल ठेक्का प्रक्रिया अघि बढाउने विभागको तयारी छ ।घाटिवेसीको क्षतिग्रस्त पुलका सन्दर्भमा भने पिलर मर्मत गरी अस्थायी रूपमा दुई वटा ब्रिक हालेर सञ्चालन गर्ने वा नयाँ ‘ट्रस ब्रिज’ निर्माण गर्ने भन्ने विषयमा प्राविधिक मूल्याङ्कन भइरहेको विभागले जनाएको छ ।




