गाजा सिटीको पश्चिमी क्षेत्रमा इजरायली हवाई आक्रमणमा परी दुई प्यालेस्टिनीको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । स्थानीय स्रोत तथा प्रत्यक्षदर्शीकाअनुसार आईतवार ताल अल–हवा क्षेत्रमा गुडिरहेको एउटा सवारीसाधनलाई लक्षित गरी इजरायली ड्रोनले क्षेप्यास्त्र प्रहार गरेको थियो । आक्रमणपछि सवारीसाधनमा विस्फोट हुनुका साथै आगलागी भएको थियो। प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीकाअनुसार घटनामा दुई जनाको मृत्यु भएको र १३ जना विभिन्न गम्भीरताका चोटपटकबाट घाइते भएका छन् । इजरायली सेनाले आक्रमणको पुष्टि गर्दै मारिएका दुई जना हमासका लडाकु रहेको दाबी गरेको छ । इजरायली सेनाकाअनुसार उनीहरू हसन अली अबु नादा र अब्द अल–रहिम अहमद खलिल खावा हुन् ।
दुवै हमासको सैन्य शाखाअन्तर्गतको इन्जिनियरिङ युनिटमा आवद्ध रहेको र पछिल्लो समय हतियार उत्पादन तथा विकास तथा इजरायली सैनिक र सर्वसाधारणमाथि आक्रमणको तयारीमा संलग्न रहेको सेनाको आरोप छ । नाजुक युद्धविराम कायम रहे पनि गाजा क्षेत्रमा तनाव र सैन्य गतिविधि जारी रहेका बेला पछिल्लो आक्रमण भएको हो । गाजास्थित स्वास्थ्य अधिकारीहरूका अनुसार अक्टोबर २०२५ मा युद्धविराम लागू भएयता इजरायली आक्रमणमा कम्तीमा १,३६९ प्यालेस्टिनीको मृत्यु र ४,६२७ जना घाइते भएका छन् । यसैबीच, गाजा सिटीमा मेडिकल रिलिफका निर्देशक मोहम्मद अबु अफासले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले १३ अस्पताल र सात स्वास्थ्य केन्द्रलाई सेप्टेम्बर १९ पछि इन्धन आपूर्ति बन्द हुन सक्ने जानकारी दिएको बताएका छन् । पर्याप्त कोषको अभावका कारण यस्तो अवस्था आएको उनको भनाइ छ । गाजाको स्वास्थ्य प्रणालीले यसअघि नै जेनेरेटर सञ्चालनका लागि आवश्यक इन्धन, औषधि तथा अन्य स्वास्थ्य सामग्रीको गम्भीर अभाव झेलिरहेको अबु अफासले बताएका छन् ।





