शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८३, बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त

काठमाडौं । शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त भएका छन् । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भक्तपुरका लम्साललाई आयोगको अध्यक्ष पदमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको हो । उहाँका अनुसार बैठकले आयोगको सदस्यमा मकवानपुरका रामशरण सापकोटा र महिला सदस्यमा काठमाडौंकी विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । उहाँले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी अपराध नियन्त्रणका लागि नयाँ विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको पनि बताउनुभयो । उहाँले बैठकले काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङका २७ स्थानीय तहका १७ हजार ४ सय ३८ गरिब घरपरिवारको सूचीसमेत स्वीकृत गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले सहसचिव विनोदबहादुर कुँवरलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ । त्यसैगरी, सहसचिव उत्तरकुमार खत्रीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताउनुभयो ।उहाँले नेपाल–इन्डिया इन्टरगभर्मेन्टल सबकमिटी आईजिएससीको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय समेत भएको बताउनुभयो । उहाँले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको राजीनामा स्वीकृत गर्दै उक्त पदमा सुनसरी–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक कुमार साहको नाम सिफारिस गरिएको समेत जानकारी दिनुभयो ।

Leave a Reply