काठमाडौं ।
वैदिक सनातन धर्मावलम्बीहरूले आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइरहेका छन् । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव जातिको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतारका रूपमा द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको छ । यस विशेष अवसरमा देशभरका कृष्ण मन्दिरहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको ठूलो घुइँचो लागेको छ । विशेषगरी ललितपुरको पाटनस्थित प्रसिद्ध ऐतिहासिक कृष्ण मन्दिर, काठमाडौंको गोठाटारस्थित नवतनधाम र बूढानीलकण्ठस्थित श्रीकृष्ण मन्दिरहरूमा दर्शनार्थीहरूको विशेष चहलपहल देखिएको छ । भक्तजनहरूले आजको दिन भगवान श्रीकृष्णको महिमा गान गर्ने, भजनकीर्तन गर्ने र व्रत बस्ने गर्दछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म भएको खुसियालीमा विभिन्न स्थानमा शोभायात्रा समेत निकालिने कार्यक्रम रहेको छ । राति श्रीकृष्णको जन्म भएको समयमा विशेष पूजाआजा गरी यो पर्व समापन गरिन्छ ।




