कविना बलामी,काठमाडौँ । आधुनिकता र बदलिँदो जीवनशैलीसँगै नेपाली समाजमा पुस्तौँदेखि चलिआएका धर्म, संस्कृति, परम्परा तथा चाडपर्वहरू संरक्षणको चुनौतीमा परेका छन्। आफ्नो मौलिक पहिचानसँग जोडिएका यस्ता सांस्कृतिक परम्परा लोप हुन नदिन पुरानो पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता बढ्दै गएको छ। पछिल्लो समय युवापुस्ताले समेत मौलिक संस्कृति र चाडपर्वको संरक्षणमा चासो देखाउन थालेका छन्।
नेपाल विविध जातजाति, भाषा, धर्म, संस्कृति र परम्पराले भरिपूर्ण देश हो। यहाँ वर्षभरि विभिन्न समुदाय र धर्मसँग सम्बन्धित अनेकौँ चाडपर्व मनाइन्छन्। समयसँगै आधुनिक जीवनशैली, प्रविधिको विकास र बदलिँदो सामाजिक परिवेशका कारण कतिपय मौलिक परम्परा तथा संस्कृतिहरू क्रमशः ओझेलमा पर्न थालेका छन्। त्यसैले पुस्तौँदेखि चलिआएका यस्ता परम्परा र संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु आजको महत्वपूर्ण आवश्यकता छ। युवाहरू आधुनिक जीवनशैलीमा अभ्यस्त भए पनि पुरानो संस्कृतिको संरक्षणमा उनीहरूको भूमिका महत्वपूर्ण देखिन्छ। अहिलेका युवाहरूले परम्परागत रूपमा गरिने गतिविधिलाई निरन्तरता दिँदै आएका छन्। यसरी युवाहरूले संस्कृतिको पुस्तान्तरणमा समेत योगदान पुयाइरहँदा आधुनिकताको प्रभाव बढ्दै गए पनि आफ्नो मौलिक संस्कृति हराउन दिन नहुने सन्देश उनीहरूको सहभागिताले दिएको छ। आफना पुस्ताबाट सिकेको संस्कृति आज आफैंले अभ्यास गर्दा यसको महत्व र संरक्षणको आवश्यकता झनै गहिरो रूपमा महसुस भएको उनीहरू बताउँछन् ।युवाहरूका अनुसार भाषा, बाजागाजा, नाच तथा गाईजात्रासँग जोडिएका विभिन्न सांस्कृतिक पक्षको संरक्षण र निरन्तरताले मात्रै हाम्रो मौलिक पहिचान जोगाउन सकिन्छ। पुस्तौँदेखि चलिआएका परम्परालाई नयाँ पुस्ताले आत्मसात् गर्दै अघि बढेमा संस्कृति पुस्तान्तरण हुँदै जाने उनीहरूको बुझाइ छ।
पुस्तौँदेखि बुढापाकाले संरक्षण गर्दै आएका संस्कार, परम्परा, जात्रा तथा सांस्कृतिक गतिविधिहरू नयाँ पुस्तासम्म पु¥याउनु सबैको जिम्मेवारी हो। पुरानो पुस्तासँग रहेको ज्ञान, अनुभव र परम्परागत अभ्यास नयाँ पुस्ताले सिक्न सकेमा मात्र सांस्कृतिक निरन्तरता कायम रहन्छ। तर आधुनिकताको प्रभावसँगै कतिपय युवा पुस्ता आफ्नै मौलिक संस्कृतिभन्दा बाह्य संस्कृति र आधुनिक जीवनशैलीतर्फ बढी आकर्षित भइरहेका छन्। यद्यपि पछिल्लो समय युवाहरूमा आफ्नै संस्कृति र परम्पराप्रति चासो बढ्दै गएको देखिन्छ। सामाजिक सञ्जाल, डिजिटल माध्यम तथा विभिन्न सांस्कृतिक कार्यक्रममार्फत युवाहरूले आफ्ना मौलिक पर्व, जात्रा, पोसाक, कला, संगीत र परम्परालाई नयाँ शैलीमा प्रस्तुत गरिरहेका छन्। यो सांस्कृतिक संरक्षणका लागि सकारात्मक पक्ष हो। आधुनिक प्रविधिको सही प्रयोग गर्न सकेमा पुराना संस्कृति र परम्परालाई देशभित्र मात्र नभई विश्वभर चिनाई रहेका छन् ।संस्कृति संरक्षणको अर्थ पुराना परम्परालाई जस्ताको तस्तै दोहो¥याउनु मात्र होइन। समय र परिस्थितिअनुसार आवश्यक सुधार गर्दै त्यसको मौलिकता र ऐतिहासिक महत्वलाई जोगाउनु पनि संरक्षणकै एउटा महत्वपूर्ण पक्ष हो।
नेपालको विविधता नै यहाँको मौलिक पहिचान हो। विभिन्न धर्म, जातजाति र समुदायले मनाउँदै आएका चाडपर्व तथा परम्पराले नेपाली समाजलाई सांस्कृतिक रूपमा समृद्ध बनाएका छन्। आधुनिकताको प्रभावलाई स्वीकार गर्दै आफ्नो मौलिक संस्कृति र परम्परालाई जोगाउनु आजको पुस्ताको महत्वपूर्ण जिम्मेवारी हो। बुढापाकाबाट प्राप्त ज्ञान, संस्कार र परम्परालाई नयाँ पुस्तासम्म पु¥याउँदै युवाहरूलाई यसको संरक्षणमा सक्रिय बनाउन सके मात्र नेपाली संस्कृति भावी पुस्तासम्म जीवित राख्न सकिन्छ। त्यसैले चाडपर्वलाई केवल उत्सवका रूपमा नभई आफ्नो इतिहास, पहिचान र संस्कृतिको संरक्षण गर्ने अवसरका रूपमा लिन आवश्यक छ।




