चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा

दक्षिण चीनको सेन्जेन सहरका सडकहरूमा विपन्न वर्गलाई लक्षित गर्दै रोटी, तरकारी, दूध र अन्य खाद्य सामग्रीहरू उपलब्ध गराउने ‘स्मार्ट फूड लकर’हरू सञ्चालनमा आएका छन् । यो सेवा ‘फुड बैंक’ नामक एक सार्वजनिक कल्याणकारी अभियानको हिस्साको रूपमा सुरु गरिएको हो । यी स्मार्ट लकरहरूमा मुख्यतया विभिन्न व्यावसायिक प्रतिष्ठान र सुपरमार्केटहरूबाट संकलन गरिएका खाद्य सामग्रीहरू राखिने गरिन्छ । लकरमा राखिने सबै सामग्रीहरूले अनिवार्य रूपमा खाद्य सुरक्षाको मापदण्ड पूरा गरेको सुनिश्चित गरिन्छ । चौबीसै घण्टा सञ्चालन हुने यी लकरहरूले उपलब्ध खाद्य सामग्रीको अवस्थाबारे वास्तविक समयको जानकारी प्रदर्शन गर्दछन् । प्रयोगकर्ताहरूले अनलाइन माध्यमबाट आफूलाई आवश्यक सामग्री उपलब्ध भए–नभएको जाँच गर्न र तिनलाई आरक्षित गर्नसक्ने व्यवस्था गरिएको छ । खाद्य सामग्री प्राप्त गर्नका लागि प्रयोगकर्ताले अनलाइन आरक्षण गरेपछि लकरमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्ने हुन्छ ।यस अभियान अन्तर्गत विशेष गरी न्यून आय भएका र असहाय समूहहरूलाई प्राथमिकता दिइएको छ । यद्यपि, बेलुका ८ बजेपछि लकरमा बाँकी रहेका सामग्रीहरू जोसुकै सर्वसाधारणले पनि लिन सक्ने प्रावधान राखिएको छ ।
यस नवीन पहलले खाँचोमा परेका व्यक्तिहरूलाई प्रत्यक्ष सहयोग पु¥याउनुका साथै खाद्य वस्तुको बर्बादी न्यूनीकरण गर्न र समाजमा दिगो जीवनशैलीको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

Leave a Reply

ताजा समाचार