काठमाडौं । नेपाली काँग्रेसका नेता तथा संसदीय दलका पदाधिकारी सम्मिलित टोलीले बाढी र पहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी सरकारको ध्यानाकर्षण गराएको छ ।
नुवाकोटको विदुर, देवीघाट लगायतका बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि संसदीय दलका नेता भीष्मराज आङदेम्बेले त्यहाँको अवस्था कल्पनाभन्दा बाहिर र भयावह रहेको बताउनुभएको हो । नेपाली काँग्रेस संसदीय दलको तर्फबाट प्रमुख सचेतक, सांसदहरू टेकबहादुर गुरुङ, साजा खातुन र पूर्व मुख्यमन्त्री बहादुर लामासहितको टोलीले प्रभावित क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिएको हो । निरीक्षणका क्रममा नेता आङदेम्बेले विदुर र आसपासका क्षेत्रमा बाढीले पु¥याएको क्षति निकै ठूलो रहेको जानकारी दिनुभयो । उहाँकाअनुसार बाढीका कारण बजार क्षेत्र बगरमा परिणत भएको छ भने कतिपय स्थानमा अझै पनि पानीको बहाव बढ्ने जोखिम कायमै छ । टोलीले धादिङ र रसुवाका कतिपय क्षेत्रमा सडक सम्पर्क विच्छेद भएका कारण पुग्न नसकिएको भएपनि स्थानीय जनप्रतिनिधिहरूसँग समन्वय गरिरहेको जनाएको छ । निरीक्षणका क्रममा प्रशासनिक निकाय र सरकारबीचको समन्वयमा कमजोरी देखिएको काँग्रेस नेताहरूको निष्कर्ष छ । गृहमन्त्रीको भ्रमणका क्रममा जिल्लाका मुख्य प्रशासनिक अधिकारी (सीडीओ) लगायतका सुरक्षा निकायका प्रमुखहरू उद्धार कार्यमा खटिनुको साटो ‘प्रोटोकल’ र स्वागतमै अल्झिनुपरेको गुनासो स्थानीय स्तरबाट आएको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अवस्था सोचेको भन्दा अत्यन्तै भयावह छ । बाढीले पु¥याएको भौतिक क्षतिका अतिरिक्त संकलन गरिएका शवहरू व्यवस्थापन हुन नसक्दा दुर्गन्ध फैलिएको र यसले थप महामारी निम्त्याउन सक्ने जोखिम देखिएको छ । केन्द्रबाट मन्त्रीहरू जाँदा स्थानीय प्रशासन डम्पिङ हुने र जनताले प्रशासनिक सहयोग नपाउने अवस्था सिर्जना हुनु दुःखद् हो । मैले यसबारे प्रधानमन्त्रीलाई समेत जानकारी गराउँदै उद्धारमा खटिनुपर्ने निकायलाई काममा अवरोध नहुने गरी व्यवस्थापन मिलाउन सुझाव दिएको छु ।’
विपद् व्यवस्थापन र राहत वितरणलाई थप व्यवस्थित बनाउन नेपाली काँग्रेसले आन्तरिक छलफल तिब्र पारेको छ । नेता आङदेम्बेले प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मी र स्थानीय कार्यकर्ताहरूलाई उच्च शतर्कता अपनाउन र नागरिकको सेवामा समर्पित हुन समेत आग्रह गर्नुभयो ।




