गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण | ईमाउण्टेन समाचार

Our Network

भदौ ११ २०८३, शुक्रबार

गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण

बाढीपहिरोका कारण त्रिशूली नदीले क्षति पु¥याएका मुलुकका विभिन्न क्षेत्रमा पुगेको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ५ करोड रुपैयाँ बराबरको राहत प्याकेज घोषणा गरेको छ ।
संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र केन्द्रिय उपाध्यक्ष रोजिना प्रधान राईसहितको टोलीले नुवाकोटको बट्टार तथा त्रिशूली बजारलगायतका प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी राहत सामग्री वितरण गरेको हो । स्थलगत निरीक्षणका क्रममा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देखिएको भन्दा वास्तविक क्षति निकै भयावह रहेको बताउनु भयो ।

डा. महतोले पहिलो चरणमा ५ करोड बराबरको राहत वितरण गरिने र त्यसपश्चात नेपाल सरकारसँग समन्वय गरी पुनर्निर्माणका कार्यमा गैरआवासीय नेपालीहरूको भूमिकाबारे छलफल गरिने जानकारी दिनुभयो ।
संघकी केन्द्रिय उपाध्यक्ष रोजिना प्रधान राईले विपद्को घडीमा विदेशमा रहेका नेपालीहरूको मन रोएको उल्लेख गर्दै पीडितहरूलाई सहयोग गर्नु सबैको कर्तव्य भएको बताउनु भयो ।

उपाध्यक्ष राईकाअनुसार संघले स्थानीय प्रशासन, प्रमुख जिल्ला अधिकारीको कार्यालय र स्थानीय तहसँग समन्वय गरी राहत वितरण कार्यलाई प्रभावकारी बनाउनेछ । विगतका भूकम्प र कोभिड–१९ को समयमा पनि संघले सक्रिय भूमिका खेलेको स्मरण गराउँदै उहाँले आगामी दिनमा प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा पनि सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अहिले पनि प्रभावित क्षेत्रमा नेपाली सेनालगायतका सुरक्षा निकायले बेपत्ताहरूको खोजी र घाइतेहरूको उद्धार कार्य जारी राखेका छन् । एनआरएनएको टोलीले नुवाकोटपश्चात अन्य जिल्लाका प्रभावित क्षेत्रहरूमा पनि पुगेर राहत वितरण गर्ने लक्ष्य राखेको छ ।

Leave a Reply