काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशी र त्रिशुली नदी किनारका बस्ती तथा सो क्षेत्रमा खटिएका उद्धारकर्मीहरूलाई उच्च शतर्कता अपनाउन विशेष अनुरोध गरेको छ । भदौ १० गते ठूलो बाढी आएको भोटेकोशी नदी क्षेत्रमा शुक्रवार पुनः लेदोसहित पानीको बहाव बढेको र थप बाढी आउन सक्ने जोखिम देखिएकाले प्राधिकरणले सतर्क रहन सूचना जारी गरेको हो । प्राधिकरणका प्रवक्ता एवं उपसचिव शान्ति महतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भोटेकोशी एवं त्रिशुली नदी किनारमा उद्धार तथा राहत कार्यमा खटिनुभएका र विविध कारणले जोखिम क्षेत्रमा रहनुभएका सबैलाई उच्च शतर्कता अपनाउन र जोखिम देखिएमा तुरुन्त सुरक्षित स्थानतर्फ जान विशेष अनुरोध गरिन्छ ।’
नदीमा लेदोसहितको बहाव बढ्ने क्रम जारी रहेकाले तल्लो तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै प्राधिकरणले सुरक्षाका उपायहरू अपनाउन जोड दिएको छ । प्रतिकूल अवस्थामा सहयोगका लागि प्राधिकरणले टोल फ्री नम्बर ११४९ समेत उपलब्ध गराएको छ ।





