काठमाडाैं । चीनको तिब्बत क्षेत्रबाट बगेर आउने ल्हेन्दे खोलामा फेरि ठूलो बाढी आएको छ । बाढीका कारण रसुवा, नुवाकोट हुँदै भोटेकोशी र त्रिशुली नदी किनार डुबानमा परेको छ ।
रसुवाको उत्तरगया धाम डुबानमा परेको र बाढीले चीनले निर्माण गरेको नेपाल–चीन मितेरी पुलको काम बन्द भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । बाढी कम नभएकाले सतर्कता जारी गरिएको र उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासनले जनाएको छ ।
चीनको तिब्बत हुँदै रसुवागढी आइपुग्ने भोटेकोशी नदीमा एक्कासि बहाव बढेको हो । योसंगै गत असार २५ गतेको बाढीले बगाएको नेपाल–चीन मितेरी पुल रहेको क्षेत्रमा चीनले थालेको निर्माणको काम बन्द भएको छ ।
रसुवामा र चीनको तिब्बत क्षेत्रमा मंगलबार भएको वर्षाका कारण बाढी आएको अनुमान छ । रसुवाको उत्तरगया गाउँपालिका आसपासका क्षेत्र र किस्पाङको त्रिशुली थ्री बी हब लगायत क्षेत्रमा जल सतह बढेको छ । यसअघि असार २५ गते पनि ल्हेन्दे खोलामा बाढी आउँदामा जनधनको ठूलो क्षति भइसकेकोले अहिले विशेष सतर्कता अपनाइएको छ ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले गत असार २५ गतेकै तहमा बाढी आएको भन्दै सतर्क रहन सूचना जारी गरेको छ । आज बिहान करिब ४ बजे नुवाकोटको बिदुर नगरपालिका इलाकामा बाढी आइपुगेको हुँदा धादिङ तर्फ रहेको गल्छी गाउँपालिका क्षेत्र हुँदै बग्ने त्रिशूली नदी आसपासका नागरिकहरुलाई उच्च सतर्कता अपनाउन भनिएको छ ।
सूचना दिन र उद्धार गर्नका लागि सुरक्षा निकायका अंगहरु परिचालन भइसकेको र कुनै समस्या भए स्थानीय जनप्रतिनिधि र नजिकको प्रहरी चौकीमा खबर गरिदिन स्थानीयलाई जिल्ला प्रशासनले भनेको छ ।





