रसुवाको बाढीपछि प्रधानमन्त्रीको उच्चस्तरीय बैठक, उद्धार र राहतलाई तीव्रता दिन निर्देशन | ईमाउण्टेन समाचार

Our Network

भदौ ११ २०८३, शुक्रबार

रसुवाको बाढीपछि प्रधानमन्त्रीको उच्चस्तरीय बैठक, उद्धार र राहतलाई तीव्रता दिन निर्देशन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट सिर्जित राष्ट्रिय संकट, राहत तथा उद्धारका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले उच्चस्तरीय बैठक बोलाएर सम्बन्धित मन्त्रालयका सचिवहरूसँग छलफल गर्नुभएको छ।बाढी प्रभावित नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण गरी फर्किएलगत्तै प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय बैठक बोलाउनुभएको हो।बैठकमा विपद् व्यवस्थापन, राहत तथा उद्धारसँग प्रत्यक्ष जोडिएका रक्षा, गृह, अर्थ, परराष्ट्र, ऊर्जा, स्वास्थ्य तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो।बैठकमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई थप तीव्र बनाउन निर्देशन दिनुभएको छ। उहाँले बाढी तथा पहिरोमा परी घाइते भएकाहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन तथा विस्थापित परिवारलाई तत्काल आवश्यक राहत सामग्री पुर्‍याउन निर्देशन दिनुभएको हो।

प्रधानमन्त्री शाहले विस्थापितहरूका लागि निर्माण गरिएका राहत क्याम्पहरू व्यवस्थित, सुरक्षित र सफा राख्न विशेष जोड दिनुभएको छ। राहत क्याम्पमा बस्ने नागरिकको व्यक्तिगत गोपनीयता सुनिश्चित गर्न तथा महिला, बालबालिका र वृद्धवृद्धालाई उचित सम्मान, सुरक्षा र विशेष प्राथमिकताका साथ राख्नसमेत उहाँले स्पष्ट निर्देशन दिनुभएको छ।बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सम्बन्धित सबै निकायबीच आवश्यक समन्वय गरी तत्काल काम अघि बढाउन प्रधानमन्त्री शाहले निर्देशन दिनुभएको छ।

Leave a Reply