काठमाडौं ।
२०८३ वैशाख १ गतेदेखि भदौ ६ गते बिहानसम्म देशभर भएका विभिन्न प्रकारका ५ हजार ६० वटा विपद्का घटनामा परी २ सय ५० जना नागरिकले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार यस अवधिमा ९ जना अझै बेपत्ता रहेका छन् भने १ हजार ६२४ जना घाइते भएका छन् । विपद्का कारण देशभर ६ हजार ३ सय १५ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
यस वर्ष सबैभन्दा बढी मानवीय क्षति ‘सर्पदंश’ बाट भएको छ । वैशाख यता देशभर सर्पदंशका १ हजार २६ वटा घटना अभिलेख भएका छन्, जसमा परी ६९ जनाको ज्यान गएको छ भने ९ सय ६८ जना घाइते भएका छन् र १ हजार ३० परिवार प्रभावित भएका छन् । यस्तै, वर्षायामको प्रमुख विपद् मानिने पहिरोका कारण देशका विभिन्न भू–भागमा ४३ जनाको मृत्यु भएको छ । पहिरोका १ हजार २९ वटा घटनामा २ जना बेपत्ता भएका छन् भने ५२ जना घाइते र १ हजार परिवार प्रभावित भएका छन् ।
यस अवधिमा चट्याङका २ सय ४५ वटा घटनामा २८ जनाको मृत्यु भएको छ भने १ सय ३९ जना घाइते र २ सय ९७ परिवार प्रभावित भएका छन् । बाढीका २ सय ७६ घटनामा परी २५ जनाको ज्यान गएको छ, ७ जना बेपत्ता छन्, १४ जना घाइते भएका छन् र ५ सय ३५ परिवार प्रभावित भएका छन् । प्राधिकरणको तथ्यांकअनुसार उच्च हिमाली क्षेत्रमा ‘लेक लाग्ने’ ५९ वटा घटना हुँदा २४ जनाको मृत्यु र ३६ जना घाइते भएका छन् भने ५८ परिवार प्रभावित भएका छन् । यसैगरी आगलागीका १ हजार १४० वटा घटना दर्ता भएका छन् । जसमा २० जनाको मृत्यु, १ सय ५८ जना घाइते र १ हजार २ सय ५५ परिवार प्रभावित भएका छन् । जङ्गली जनावरको आक्रमणबाट २ सय ७३ वटा घटनामा १८ जनाको मृत्यु र १ सय ६८ जना घाइते भएका छन् । हावाहुरीका ४ सय ८० वटा घटनामा १३ जनाको ज्यान गएको छ भने ६८ जना घाइते र १ हजार ३ सय ५८ परिवार प्रभावित भएका छन् । भारी वर्षाका ३ सय २४ वटा घटनामा ४ जनाको मृत्यु, १३ जना घाइते र ३२६ परिवार प्रभावित भएका छन् ।
यसका अलावा डुङ्गा पल्टेर १ घटनामा २ जनाको मृत्यु भएको छ । वन डढेलोका १ सय ९१ घटनामा १ जनाको मृत्यु र २ जना घाइते भएका छन् । हिउँ पहिरोका २ घटनामा १ जनाको मृत्यु र १ जना घाइते भएका छन् । विस्फोटनको १ घटनामा १ जनाको मृत्यु र १ जना घाइते भएका छन् । अन्य विपद्का ५ घटनामा १ जनाको मृत्यु र ४ जना घाइते भएका छन् । असिनाका ४ घटना र भूकम्पका ४ घटनामा भने कुनै मानवीय हताहती नभएको प्राधिकरणले जनाएको छ ।
विगत २४ घण्टामा ४६ विपद्का घटनाः १ जना बेपत्ता, १८ घाइते, ७ लाख बराबरको क्षति
विगत २४ घण्टाको अवधिमा (भदौ ५ गते बिहान ८ बजेदेखि ६ भदौ बिहान ८ बजेसम्म) देशभर विपद्का ४६ वटा घटना भएका छन् । २४ घण्टाको अवधिमा कुनैपनि व्यक्तिको मृत्यु नभए पनि बाढीमा परी १ जना बेपत्ता भएका छन् भने १८ जना नागरिक घाइते भएका छन् । प्राधिकरणकाअनुसार विगत २४ घण्टामा विपद्का कारण अनुमानित ७ लाख रुपैयाँ बराबरको भौतिक सम्पत्ति क्षति भएको छ । यस्तै देशका ८ स्थानमा सडक अवरोध भएको छ भने २ वटा चौपायाको क्षति भएको छ । विपद् व्यवस्थापन, उद्धार तथा सुरक्षाका लागि २४ घण्टामा १ सय ३३ जना प्रहरी परिचालन गरिएको छ । २४ घण्टाको विपद् वर्गीकरणअनुसार पहिरो र सर्पदंशका सबैभन्दा धेरै घटना अभिलेख भएका छन् । १२ वटा जिल्लामा पहिरोका १८ वटा घटना घटेका छन् जसमा १ जना घाइते भएका छन् र ५५ जना प्रहरी परिचालन गरिएको छ ।
यसैगरी १२ वटा जिल्लामा सर्पदंशका १६ वटा घटना भएका छन्, जसमा १६ जना नै घाइते भई उपचाररत छन् । यस कार्यमा १६ जना प्रहरी परिचालन गरिएको छ । विगत २४ घण्टामा ३ वटा जिल्लामा बाढीका ३ वटा घटना भएका छन्, जसमा १ जना बेपत्ता भएका छन् । बाढी प्रभावित क्षेत्रमा १६ जना प्रहरी परिचालन गरिएको छ । ४ वटा जिल्लामा आगलागीका ४ वटा घटना भएका छन्, जसमा २८ जना प्रहरी परिचालन गरिएको थियो । ४ वटा जिल्लामा अविरल वर्षाका ४ वटा घटना दर्ता भएका छन् जसमा १७ जना प्रहरी परिचालन गरिएको छ । यस्तै १ जिल्लामा जङ्गली जनावरको आक्रमणको १ घटनामा १ जना घाइते भएका छन् ।




