काठमाडौं ।
पोखराको कोलाहलबाट केही पर, चारैतिर मनोरम हिमशृङ्खलाले घेरिएको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ६, अस्ताम गाउँ शुक्रवार एकाएक राष्ट्रिय चासोको केन्द्र बन्यो । देशको कार्यकारी प्रमुख प्रधानमन्त्री बालेन्द्र साह (बालेन) को अप्रत्याशित भ्रमणले अस्तामवासीमा एकातिर खुशी र कौतुहलता छायो भने अर्कोतिर वर्षौंदेखि थाती रहेका आधारभुत समस्याहरू प्रधानमन्त्रीसमक्ष पु¥याउने व्यग्र उत्कण्ठा देखियो । शुक्रवार बिहानैदेखि अस्तामको उकालो बाटोमा सुरक्षाकर्मीहरूको आवागमन बाक्लिएपछि मात्र स्थानीयले आफ्नै गाउँमा प्रधानमन्त्री आउँदै गरेको सुइँको पाएका थिए । स्थानीय बासिन्दाहरू आफ्ना घरआँगन र सडक छेउछाउ भेला भएर देशका कार्यकारी प्रमुखलाई प्रत्यक्ष देख्न र आफ्ना मनका कुरा सुनाउन व्यग्र प्रतिक्षा गरिरहेका थिए । उहाँले नयाँ राजनीतिक दलहरुले राम्रो काम गर्नुपर्ने बताउनु भयो । अपराध गर्नेलाई विदेशमा जस्तै कडा भन्दा कडा कारबाही गर्नुपर्ने उहाँको सुझाव छ । अस्ताम गाउँ भौगोलिक रूपमा उच्च डाँडामा अवस्थित भएकाले यहाँको सबैभन्दा ठूलो र प्रमुख समस्या भनेकै खानेपानी र सिंचाइको अभाव हो । विश्वविद्यालयका प्राध्यापक तथा स्थानीय होटल व्यवसायीका अभिभावक नन्दलाल अधिकारीकाअनुसार यहाँका बहुसंख्यक बासिन्दाहरू किसान हुन् तर पानीको चरम अभावका कारण उनीहरूको पसिना खेर गइरहेको छ ।
खानेपानी नभएको ठाउँमा पानी बिना तरकारी खेती सम्भव नरहेको बताउनु भयो । उहाँले पोखराको नजिकै रहेकाले पानीको व्यवस्थापन भए कृषक आर्थिक रुपमा समृद्ध हुने बताउनु भयो । पोखराबाट छोटो दूरीमै रहेको भएपनि अस्ताम पुग्ने मुख्य सडक अत्यन्तै कच्ची र अप्ठ्यारो अवस्थामा छ । स्थानीय रामप्रसाद अधिकारी र शोभाखर अधिकारीले सडक र पिउने पानीको समस्यालाई पहिलो प्राथमिकतामा राखेर समाधान गरिदिन प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभयो ।
अस्ताम केवल समस्याको गाउँ मात्र होइन, यो प्रकृतिको अनुपम वरदान पाएको स्वर्ग जस्तै पर्यटकीय गन्तव्य हो । यहाँबाट माछापुच्छ्रे हिमाल ऐनामा जस्तै छर्लङ्ग र नजिकै देखिन्छ । यसका साथै अन्नपूर्ण रेन्ज, मनास्लु रेन्ज र धौलागिरी हिमशृङ्खलालाई एकै स्थानबाट ३६० डिग्रीमा अवलोकन गर्न सकिन्छ । प्राध्यापक नन्दलाल अधिकारीकाअनुसार पोखरामा चर्को गर्मी हुँदा पनि अस्ताममा वर्षैभरि शीतल हावापानी रहने भएकाले यो विदेशी तथा आन्तरिक पर्यटकका लागि योग, ध्यान र प्रकृतिको आनन्द लिने उत्कृष्ट केन्द्र बनेको छ ।
यहाँ रहेका प्राकृतिक ओडार र गुफाहरूको संरक्षण गर्दै उच्च पर्वतीय खेलकुदको पूर्वाधार निर्माण गर्नसके यसले समग्र देशकै अर्थतन्त्रमा ठूलो टेवा पु¥याउने स्थानीयको दृढ विश्वास छ । प्रधानमन्त्रीको भ्रमणमा विकास निर्माणका माग मात्र उठेनन्, गाउँले महिलाहरूले देशको शान्ति सुरक्षा र न्याय प्रणालीप्रति समेत गम्भीर चासो व्यक्त गरे । स्थानीय ज्ञानु अधिकारीले देशमा बढ्दो अपराध, बालिका तथा महिला हिंसाप्रति आक्रोश पोख्दै कडा कानुन कार्यान्वयनको माग गर्नुभयो । पोखराको काखमा रहेको अस्ताम गाउँले प्रधानमन्त्री बालेन्द्र साहको बसाइबाट नयाँ आशाको किरण देखेको छ । प्राकृतिक रूपमा धनी तर पूर्वाधारमा पछाडि परेको अस्तामबासीको यो आवाज–‘पानी, बाटो र न्याय’–सिंहदरबारको नीति तथा कार्यक्रममा कसरी प्रतिविम्बित हुन्छ, त्यो भने आगामी दिनमा प्रधानमन्त्रीको कदमले नै प्रष्ट पार्नेछ




