काठमाडौं । जल तथा मौसम विज्ञान विभागकाअनुसार आज देशभरको मौसममा साधारणतया बदली रहने देखिएको छ । देशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ । विभागले सार्वजनिक गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी तथा हिमाली भू––भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । यस्तै, तराईका थोरै स्थानहरूमा समेत वर्षाको सम्भावना रहेको छ । विशेषगरी कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ । त्यसैगरी, आज राति पनि देशभरको मौसममा साधारणतया बदली नै रहनेछ । वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानहरूमा समेत वर्षाको सम्भावना छ भने हिमाली भू–भागका थोरै स्थानमा वर्षासँगै हिमपात हुन सक्नेछ । विभागकाअनुसार राति कोशी प्रदेशका पहाडी तथा तराई भू–भागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । प्रतिकूल मौसमका कारण हुनसक्ने जोखिमबाट बच्न विभागले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।




