काठमाडौँ । नेपाली काँग्रेसका संसदीय दलका उपनेता अभिशेकप्रताप साहले देशका विभिन्न स्थानमा भइरहेका साम्प्रदायिक घटनामा सरकारले विभेदपूर्ण व्यवहार गरिरहेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ मा २०८२ चैत ७ गते भएको साम्प्रदायिक तनाव र हालै सुनसरी तथा सिरहामा भएका घटनाको प्रकृति समान भएपनि राज्यको उपस्थिति, राहत तथा न्याय सम्पादनमा फरक व्यवहार भएको दाबी गर्नुभयो । उहाँले एउटा घटनामा सरकारले अस्वाभाविक तदारुकता, राहत, क्षतिपूर्ति र कारबाहीमा तत्परता देखाएको तर कपिलवस्तु घटनामा मौनता, उदासीनता र फितलो अनुसन्धान गरेको आरोप लगाउनु भयो । साहकाअनुसार सुनसरी घटनाका मृतकलाई शहीद घोषणा गरी परिवारका सदस्यलाई सरकारी जागिर र उच्च राहतको व्यवस्था गरिएको छ भने कपिलवस्तुका पीडितले उपचार खर्चसमेत पाएका छैनन् । उहाँले न्याय भूगोल र समूदायको आधारमा बाँडिने वस्तु नभएको भन्दै समूदाय समूदाय र वर्गसँग समान व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले सरकारको विभेदकारी व्यवहारले राज्यप्रति नागरिकको विश्वास गुम्दै जाने चेतावनी पनि दिनुभयो ।




