काठमाडौं । जल तथा मौसम विज्ञान विभागकाअनुसार आज देशभरको मौसम साधारणतया बदली रहनेछ । विभागले सार्वजनिक गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो र राति देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । देशभर साधारणतया बादल लाग्ने र हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । देशका पहाडी भू–भागका धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ । यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस, कोशी, वागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने देखिन्छ । कोशी, वागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीको पहाडी क्षेत्र र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति देशभरको मौसम साधारणतया बदली रहनेछ । हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना कायमै रहने विभागले जनाएको छ । कर्णाली प्रदेशको पहाडी क्षेत्रका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । यसैगरी, कोशी र वागमती प्रदेशका पहाडी क्षेत्रका केही स्थान र तराईका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्नेछ । वागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशको पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।




