स्वास्थ्य नीतिमा खाद्य स्वच्छता र निरोधात्मक विधिलाई प्राथमिकता दिन सांसद बरालको माग | ईमाउण्टेन समाचार

Our Network

साउन २० २०८३, बिहीबार

स्वास्थ्य नीतिमा खाद्य स्वच्छता र निरोधात्मक विधिलाई प्राथमिकता दिन सांसद बरालको माग

काठमाडौँ । नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले स्वास्थ्य क्षेत्रको सुधारका लागि खाद्य स्वच्छता र निरोधात्मक स्वास्थ्य प्रणालीलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । बिहीवार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद बरालले स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले आयुर्वेद तथा वैकल्पिक चिकित्साको दायरा फराकिलो बनाउनुपर्ने सुझाव दिँदै योग र प्राकृतिक चिकित्सालाई नागरिकको दैनिक जीवनशैलीसँग जोड्न आग्रह गर्नुभयो ।

अस्पताल व्यवस्थापनको प्रसङ्गमा सांसद बरालले केवल वरिष्ठताका आधारमा नभई विशेषज्ञता र व्यवस्थापकीय क्षमताका आधारमा मेडिकल सुपरिटेन्डेन्ट चयन गरिनुपर्ने बताउनु भयो । स्वास्थ्य उपचारकै कारण सर्वसाधारण गरिबीको रेखामुनि धकेलिइरहेको तथ्याङ्क प्रश्तुत गर्दै उहाँले क्यान्सर, मिर्गौला र कलेजो जस्ता जटिल रोगको उपचारमा राज्यले प्रभावकारी कदम चाल्नुपर्ने बताउनु भयो । औषधि र खाद्य विभागलाई एउटै प्राधिकरण मातहत लैजाने सरकारी सोचप्रति टिप्पणी गर्दै उहाँले यी दुई फरक विषय भएको उल्लेख गर्नुभयो । औषधि व्यवस्था विभागको कार्यशैलीमा सुधारको खाँचो औँल्याउँदै उहाँले विदेशी र स्वदेशी औषधिको गुणस्तर मापनमा पारदर्शिता कायम गर्न र गुणस्तरहीन औषधिलाई बजारमा रोक लगाउन मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउनु भयो । सांसद बरालले राष्ट्रसेवक कर्मचारीहरूलाई जिम्मेवार र इमानदार बन्न आग्रह गर्दै गरिब र विपन्न नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

Leave a Reply

ताजा समाचार