काठमाडौँ । नेपाली काँग्रेस सांसद नरेन्द्र केरुङले राजनीतिलाई पेशा नभई सेवाको रूपमा ग्रहण गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल अडिटर्स एशोसिएशन (अडान) द्वारा आयोजित कार्यक्रममा बोल्दै सांसद केरुङले हरेक राजनीतिक व्यक्तित्वको आफ्नै मौलिक पेशा हुनुपर्ने र राजनीतिलाई मात्र आर्जनको माध्यम बनाउँदा समाजमा भ्रष्टाचार र विकृति बढ्ने बताउनुभएको हो । आफू पनि लेखा व्यवसायबाटै आएको स्मरण गर्दै उहाँले संसदीय कार्यकालका लागि आफ्नो पेशागत प्रमाणपत्र (लाइसेन्स) पाँच वर्षका लागि नेपाल चार्टर्ड एकाउन्टेण्ट्स संस्था (आईक्यान) मा स्थगन गराएको जानकारी दिनुभयो । सांसद केरुङले मुलुकको आर्थिक अनुशासन कायम गर्न र पारदर्शिता सुदृढ बनाउन लेखा परीक्षकहरूको भुमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । टोल विकास समितिदेखि अर्बौँको कारोबार गर्ने कर्पोरेट हाउसहरूको हिसाबकिताब हेर्ने जिम्मेवारी लेखा परीक्षककै काँधमा रहेको उहाँको भनाइ छ । सांसद केरुङले मुलुकमा दर्तावाल लेखा परीक्षक (आरए) हरूको संख्या क्रमशः घट्दै गएकोमा गम्भीर चासो व्यक्त गर्नुभयो । नयाँ दर्ता प्रक्रिया रोकिएका कारण भविष्यमा दुर्गम क्षेत्रका साना संघ–संस्था र टोल विकास समितिहरूको लेखा परीक्षण गर्ने जनशक्तिको अभाव हुन सक्ने उहाँले औँल्याउनु भयो ।
आईक्यानबाट उत्पादित जनशक्तिको संख्या न्युन रहेको र धेरै विद्यार्थी पलायन भइरहेको भन्दै उहाँले पाठ्यक्रम परिमार्जनको आवश्यकता रहेको बताउनु भयो । आफू जनप्रतिनिधिको भुमिकामा रहे पनि कार्यकाल सकिएपछि पुनः आफ्नै पेशामा फर्किने उहाँले उद्घोष गर्नुभयो ।




